
काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा प्रस्तावित समयतालिका प्रस्तुत गरेको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगले प्रस्ताव गरेको समयतालिका उपयुक्त देखिएको बताएका छन् । उनको सचिवालयका अनुसार ‘प्रचण्ड’ले पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा तय गर्ने बताएका हुन् ।
छलफलमा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपाका संयोजक प्रचण्डलगायत सहभागी थिए । आयोग पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर बाहिरिएका थिए ।
पछिल्लो स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते र प्रदेशसभा निर्वाचन सोही वर्ष मंसिर ४ गते भएको थियो । गाउँसभा र नगरसभाको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते सकिँदै छ । स्थानीय तहको कार्यकाल सकिन करिब पाँच महिना बाँकी रहँदा आयोगले दलहरूसँग निर्वाचनको समयतालिकाबारे छलफल गरेको हो ।