काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरतामार्फत विद्यार्थीहरूलाई आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशभर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । ‘थिंक विफोर यु फलो, वाइज मनी टुमरो’ नारामा बैंकले सातै प्रदेशका २४ स्थानमा विद्यालय तथा क्याम्पसहरूमा वित्तीय शिक्षा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको हो ।
विद्यार्थीलाई बैंकिङ सेवा, डिजिटल कारोबारका माध्यमहरू र सुरक्षित आर्थिक अभ्याससम्बन्धी ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा १२ सय भन्दा बढी विद्यार्थीको सक्रिय सहभागिता थियो । सोही क्रममा बैंकले चार सय ४८ जना विद्यार्थीलाई आफ्नै विभिन्न शाखामा भ्रमण गराई व्यवहारिक वित्तीय प्रणालीबारे अवलोकनसमेत गराएको थियो ।
बैंककाअनुसार ग्लोबल मनी वीक अवधिमा ३८ वटा कार्यक्रम सम्पन्न गरी १६ सय भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी प्रदान गरेको जनाएको छ । सिद्धार्थ बैंकले वित्तीय सेवाको पहुँच विस्तार गर्दै समावेशी वित्तीय प्रणालीको विकास गर्न र जनस्तरमा वित्तीय सचेतना अभिवृद्धि गर्न यस्ता अभियानमा निरन्तर सहभागी हुँदै आएको जनाएको छ ।