काठमाडौं : लिट्मस इन्डस्ट्रिज लिमिटेडले ‘लिट्मस २.०’ अन्तर्गत नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ । नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस अत्याधुनिक उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा हाम्रो आत्मनिर्भरतालाई समुन्नत बनाउँदै लेजाने विश्वास गरिएको हो ।
सो उपलब्धिलाई स्मरणीय बनाउन चैत्र १३ गते फुर्नान्स फ्लेमिङ सेरेमोनीको आयोजना गरिएको थियो । समारोहको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, कृष्णबहादुर राउतले गरेका थिए । यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रुपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति गर्ने जनाइएको छ ।
सो परियोजनाले उत्पादन ढुवानी र बिक्रीलगायतका क्षेत्रमा सयौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ । साथै सो परियोजनाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै देशमा आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।