२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

नेपाल लाइफले सगरमाथामा फोहोर संकलनमा सहकार्य गर्ने

shivam cement
२०८१ चैत १४ गते २०:४६
Shares
नेपाल लाइफले सगरमाथामा फोहोर संकलनमा सहकार्य गर्ने

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर संकलन गर्न प्रोजेक्ट केयर अभियान अन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बिहीबार काठमाडौंको ग्लोबल कलेजमा आयोजित एक समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको औँल्याए । 

राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक पाँच हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको बताए । साथै उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे । 

राउण्ड टेबल नेपालका निर्वतमान अध्यक्ष नितेशकुमार अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको जनाए । उनले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे  ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भएपनि सुरु हुनु सकारात्मक रहेको बताए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा सगरमाथाको फोहोरबारे नकारात्मक समाचारहरू आउन थालेको उल्लेख गर्दै, यो अभियानले समस्या समाधान गर्न महत्वपूर्ण योगदान दिनेमा उनले विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबर