रौतहट : जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिका ४ गरुडा बजारमा भीषण आगलागी हुँदा ५ घर जलेर नष्ट भएको छ । गरुडा तरकारी बजारमा ५ वटा घरमा बिहान ९ बजे भीषण आगलागी हुँदा १३ लाख बराबरको क्षतिभएको हो ।
स्थानीय कमल जयसवाल लगाएतका व्यक्तिले भाडामा लिएर होटल संञ्चालन गर्दै आएको घरमा आगलागी भएको हो । आगलागीका कारण ५ वटै घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरमा राखिएको विभिन्न सामानसमेत जलेर खरानी भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
क्षतिको विवरण अझै प्राप्त नभएपनि आगलागीका कारण लाखौंको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट घरमा राखिएको दुईवटा ग्याँस सिलिण्डर विष्फोट भएको हो ।
ग्याँस सिलिण्डर विष्फोट भएपनि मानवीय क्षति भएको छैन । आगलागी भएको खबर पाउना साथ गरुडा नगरपालिकाबाट आगो निभाउन दमकल पठाइएको थियो । तर उक्त दमकलले आगो पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि गौर नगरपालिकाको बारुण यन्त्र मगाइएको थियो ।
गौर नगरपालिकाबाट आएको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो । तर गरुडाका दमकल र गौरको बारुण यन्त्र पुग्दासम्म घरहरू पूर्ण रूपमा जलिसकेको थियो । आगलागी कसरी भयो भन्ने कारण खुल्न नसकेपनि स्थानीयहरूले बताए अनुसार सेकुवा तताउन बालेको आगोबाट सल्केर आगलागी भएको हो । घटनाबारे आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाए ।