काठमाडौं : म्यान्मारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा १७ जना नेपालीभाषीको मृत्यु भएको छ । मृतकमध्ये ९ जनाको शव भेटिएको छ ।
म्यान्मारमा रहेका लक्ष्मण न्यौपानेका अनुसार भूकम्पमा परी १७ नेपालीभाषीको मृत्यु भएको छ । मृतकका शवहरूको खोजी भइरहेको छ ।
नेपालीहरू बढी बसोबास रहेको मान्डेलेमा सबैभन्दा धेरै क्षति भएको छ । बीबीसीका अनु्सार म्यान्डले नामक शहरमा एउटा दाहाल परिवारका ७ जनाको मृत्यु भएको छ । त्यसबाहेक अरू १० जनाको पनि भूकम्पमा परी मृत्यु भएको हो ।
शुक्रबार राति धेरै नेपालीभाषीहरूले फेरि भूकम्प आउन सक्ने डरले खुल्ला आकाशमुनि रात बिताएका थिए । शुक्रबार म्यान्मार केन्द्रविन्दु भएर ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले छिमेकी थाइल्यान्डमा पनि थुप्रै जनधनको क्षति गराएको छ ।
म्यान्मारमा अहिलेसम्म १ हजारभन्दा धेरैको मृत्यु भएको छ । उद्धारकर्मीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । संचार माध्यमहरूका अनुसार त्यहाँ अहिले पनि खोजी, उद्धार र राहतको काम भइरहेको छ । दशौं हजार मानिस मारिएको हुन सक्ने उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले जनाएका छन् ।भग्नावशेषभित्र पुरिएका मानिसहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
भूकम्पको केन्द्रबिन्दुदेखि नजिकै पर्ने म्यान्डलेमा विध्वंशको भयावह दृश्य देखिएको छ, जहाँ नेपालीभाषीहरूको अत्यधिक बसोबास छ । अधिकारीहरूका अनुसार त्यस क्षेत्रमा मात्र ७ ०० जनाको हाराहारीमा मृत्यु भएको छ ।
म्यान्मारका सैनिक सरकार प्रमुखले अन्तर्राष्ट्रिय सहायताका लागि अपील गरेका छन् तर जारी गृहयुद्धका कारण राहत कार्य प्रभावित हुने ठानिएको छ ।
विध्वंशकारी भूकम्पपछि भारतले सहायता सामग्री पठाएको छ भने चीनले उद्धार कार्यमा सघाउन १७ सदस्यीय टोली पठाएको छ ।
यस्तै, भूकम्पबाट प्रभावित थाइल्यान्डको राजधानी बैंककमा पनि राहत तथा उद्धार कार्य जारी छ । तर, थाइल्यान्डमा भूकम्पबाट नेपालीहरू हताहती नभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । भूकम्पले एउटा निर्माणाधीन गगनचुम्बी भवन भत्कँदा दर्जनौं कामदार पुरिएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु म्यान्मारको सगाइङ शहरबाट १६ किलोमिटर टाढा थियो । भूकम्पको केन्द्र जमिनभन्दा १० किलोमिटर तल थियो । थाइल्यान्डबाहेक दक्षिण–पश्चिम चीनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
थाइल्यान्ड भूकम्पीय क्षेत्रमा पर्दैन तर त्यहाँ महसुस गरिने अधिकांश भूकम्पको केन्द्रबिन्दु छिमेकी देश म्यान्मारमा हुने गर्छ ।