सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । सोमबार बिहान ९:१५ बजेदेखि विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मतदान सुरु भएको हो ।
बिहान ७ बजे सुरु हुने भनिएको निर्वाचन केही प्राविधिक कारणले निर्धारित समयमा सुरु नभई बिहान ९:१५ बजे सुरु भएको स्ववियु निर्वाचन अधिकृत खगेन्द्र अधिकारीले जानकारी दिए। मतदानबाट तीन पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति चयन हुनेछ ।
स्ववियु निर्वाचन कार्यविधिअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने सात जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ । दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । त्यसपछि कार्यसमितिमा पाँच पदाधिकारी र १२ जना सदस्य रहन्छन् ।
मध्यपश्चिम विश्वविद्यालयमा चार हजार तीन सय ८३ मतदाता छ । स्ववियु नेतृत्वविहीन भएको ६ वर्षपछि निर्वाचन हुन लागेको हो । ८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ । २०७३ भदौमा सम्पन्न पहिलो निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका झक्कबहादुर शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।
अनेरास्ववियुले जगतजंग शाहीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । नेविसंघले विवेक खड्का र अखिल क्रान्तिकारीले प्रकाश विकलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाट अध्यक्षमा चिनबहादुर सहकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार बनेकी छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिनकुमार रेग्मी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली र मिलन विसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिँदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन् । तर, तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले कार्यकाल पूरा नहुँदै २०७५ मंसिरमा स्ववियु विघटन गरिदिएका थिए । तत्कालीन रजिस्ट्रारलाई बर्खास्त गरिएको विषयमा स्ववियुले विरोध जनाएपछि कोइरालाले उक्त कदम चालेका थिए ।