काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले राम नवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
हिन्दू धर्मावलम्बीको महान् पर्व राम नवमी, २०८१ को आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले यो पर्वले श्रीरामले आफ्नो कर्तव्यपालन गर्दै समाजमा शान्ति, सद्भाव र न्यायको स्थापना कसरी गरे भन्ने ग्रहणयोग्य सकारात्मक सन्देश दिएको बताए ।
उपराष्ट्रपति यादवले श्रीरामको आदर्शलाई आत्मसात् गर्दै देश र समाजमा एकता, समृद्धि र प्रगतितर्फ अग्रसरताका लागि प्रण गर्ने अवसरका रूपमा यो पर्वलाई लिन सक्नुपर्नेमा जोड दिएका छन् । श्रीराम धर्म र संस्कृतिको अनुपम प्रेरकका रूपमा हिन्दू समाजमा अनादिकालदेखि प्रतिष्ठित भएको उल्लेख गर्दै उनले श्रीरामले शास्त्रसम्मत ज्ञानलाई आफ्नो चरित्रमा उतारेर सिंगो संसारलाई धर्मको पथमा हिँड्न सम्भव छ भन्ने सन्देश दिएका छन् ।
“श्रीरामझैँ हाम्रो जीवन चरित्र प्रधान हुनुपर्दछ । उनको जीवन सत्य, धर्म र नैतिकताको प्रतीक थियो, त्यसलाई हामीले आफ्नो जीवनमा आत्मसात् गर्न सक्नुपर्दछ”, उनले सन्देशमा भनेका छन् ।
उपराष्ट्रपतिले राम नवमीका अवसरमा गरिने भजन, कीर्तन र उपासना आम नागरिकलाई भक्ति, आध्यात्मिकताको मार्गतर्फ उन्मुख गर्दै मानिसमा नैतिकता, धार्मिकता, परोपकार एवं जनकल्याणको भावना प्रस्फुटित गराउने प्रयासबाट ओतप्रोत रहेको उल्लेख गरेका छन् ।
“हाम्रा पर्वहरू सद्भावना, जनकल्याण, नैतिकता र सद्चरित्रको अङ्कुरण गराउने माध्यम पनि भएकाले यसलाई सद्भक्ति, अध्यात्मिकता र नैतिकताको सेतुबन्धको रूपमा उपयोग गर्दै यसमार्फत देश र समाजमा शान्ति, मंगल र कल्याणका भावनाहरू जागृत गर्ने प्रयासहरूलाई उत्प्रेरित गर्ने अचूक सूत्रका रूपमा आत्मसात् गर्न जरुरी छ”, सन्देशमा उनले भरेका छन् ।
उपराष्ट्रपति यादवले मानव कल्याण, देश र समाजमा समृद्धि, सद्भाव, भाइचारा, मैत्रीभावलगायतका सकारात्मकतालाई सबैले अंगीकार गर्दै अघि बढ्नु आजको आवश्यकता भएकामा जोड दिएका छन् । “राम नवमी उत्सव मात्र होइन, हामीले आफ्नो जीवनलाई श्रीरामको आदर्शहरूसँग जोड्ने एउटा मंगलमय अवसर पनि हो”, उनले भनेका छन्, “यस अवसरमा श्रीरामझैँ असल र मर्यादित संकल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा प्राप्त होस् ।”