२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

लागुऔषधको ‘हटस्पट’ वीरेन्द्रनगर

draupadi film
कुलेन्द्र शाही
२०८१ चैत २६ गते ०६:५८
लागुऔषधको ‘हटस्पट’ वीरेन्द्रनगर

सुर्खेत : पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेत बनेसँगै यहाँ लागुऔषधका दुव्र्यसनी बढ्दै गएका छन् । जिल्लामा लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण पनि चुनौतीपूर्ण बनेको छ ।

प्रहरी प्रशासनलगायत अन्य निकायले गरेका लागुऔषध नियन्त्रणबारे विभिन्न सचेतनामूलक कार्यक्रम प्रभावकारी बन्न सकिरहेका छैनन्, जसका कारण नियन्त्रण हुन सकेको छैन । 

प्रहरीले लागुऔषध नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि यसको कारोबार र प्रयोगकर्तामा कमी नभई झनै बढ्दै गएको तथ्यांकले देखाएको छ । 

दैनिकजसो लागुऔषध ओसारपसार गर्ने गिरोहका सदस्यहरू पक्राउ परिरहेका छन् । यसरी लागुऔषध बोक्ने र सेवन गर्दै गरेका युवाहरू पक्राउ पर्नु कर्णाली प्रदेशमा अहिले सामान्य विषय बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध कारोबारी र सेवनकर्ताको संख्या तीव्र गतिमा बढ्दै गएको जानकारी दिए । 

उनले सुर्खेत जिल्लामा दैनिक २–४ वटा मुद्दा लागुऔषधविरुद्ध पर्ने गरेका बताए । लागुऔषधको लतमा फस्नेहरू १८ वर्षदेखि ४० वर्ष उमेर समूहका बढी रहेका उनको भनाइ छ । 

चालू आ.व.मा ११२ जना पक्राउ
सुर्खेतमा आर्थिक वर्ष २०७९÷०८० मा ८८ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए । त्यसमा १२७ जना पुरुष, ११ जना महिला र १० बालक गरी १४८ जना पक्राउ परेका थिए । 

त्यस्तै, आर्थिक वर्ष २०८०÷०८१ मा ७४ मुद्दा दर्ता भएकामा १०९ जना पक्राउ परेका थिए । तिनमा १०४ जना पुरुष, ४ जना महिला र १ जना बालक थिए । यस्तै, चालू आर्थिक वर्षमा ७३ वटा मुद्दा परेकामा ११२ जना पक्राउ परेका छन् । तीमध्ये १०४ जना पुरुष, ७ महिला र १ बालक छन् ।

प्रहरीले निगरानी बढाएसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दा दर्ताको संख्यासमेत बढ्ने गरेको डीएसपी विश्वकर्माले बताए । उनले भने, ‘सुर्खेत पछिल्लो समय लागुऔषधको हब बन्दै छ । प्रहरीले एक्लै मात्र यो रोकथाम गर्न सक्दैन । त्यसैले, सबै सरोकारवालाले यसलाई रोक्न लाग्नुपर्ने देखिन्छ ।’ उनले लागुऔषधको कारोबार देशकै प्रमुख समस्याका रूपमा देखिएको बताए । 

‘हटस्पट’ वीरेन्द्रनगर
लागुऔषधको भयावह अवस्थामा सुर्खेत जिल्ला भए पनि त्यसको प्रत्यक्ष प्रभाव वीरेन्द्रनगरमा देखिएको छ । प्रदेश राजधानी र जनसंख्या बढ्दो रूपमा भएकाले वीरेन्द्रनगर लागुऔषधको हब बन्दै गएको हो ।

‘कर्णालीको सुर्खेत त्यसमा पनि वीरेन्द्रनगर लागुऔषधको हबमा परिणत भएको छ । हामीले दैनिक २ जनाभन्दा बढी लागुऔषध कारोबार गरिरहेका मान्छे पक्राउ गरिरहेका छौं’, डीएसपी विश्वकर्माले भने, ‘मुद्दा मात्र दैनिक २–४ वटा आएकै हुन्छन् । अहिले झन् फार्मेसीमा समेत लागुऔषध कारोबार हुने गरेको छ ।’ उनका अनुसार वीरेन्द्रनगरको ४ नम्बर वडामा बढी लागुऔषधको कारोबार हुने गरेको छ । 

यस्तै, वडा– १०, ११ र १२ मा लागुऔषध व्यापक रूपमा हुने गरेको उनले बताए । ‘वीरेन्द्रनगरका ४, १०, ११ र १२ वडामा व्यापक रूपमा लागुऔषध हुने गरेको सूचना हामीले पाउँछौं, त्यसमा पनि ऊर्जावान् उमेरका मान्छे लागुऔषधमा लागेका देख्छौं’, उनले भने, ‘एउटै मान्छे धेरै पटकसमेत पक्राउ पर्ने गरेको छ ।’ लागुऔषधमा फसेका छोरा–छोरीलाई बुबा–आमाले सम्झाउनुपर्ने र बढी निगरानीमा राख्नुपर्ने उनको भनाइ छ । 

पैसा कमाउने नाममा कारोबारी बढ्दै
डीएसपी विश्वकर्माले लागुऔषधबाट पैसा कमाउने नाममा धेरै कारोबारी भेटिएका बताए । उनीहरूले लागुऔषधहरू भारतबाट बढी मात्रामा ल्याउने गरेको जानकारी दिए ।

‘हामीले पक्राउ गरेका मान्छेहरूलाई कहाँबाट ल्यायौ ? भनेर सोधपुछ गर्छौं । उनीहरूले भारतबाट सस्तोमा ल्याएर यहाँ महँगोमा बेच्ने बताए’, उनले भने, ‘भारतमा १ ग्रामलाई ३ हजार ५०० पर्ने र त्यसलाई ३ हजार ५०० हालेर सुर्खेत ल्याउने पक्राउ परेकाले बताएका छन् ।’

त्यसको करिब ३० पोका बनाएर एउटा पोकालाई १ हजारदेखि १ हजार ५०० सम्ममा बेच्ने र त्यसरी महँगोमा बेच्दा कमाइ राम्रो हुने उनीहरूले बताउने गरेका विश्वकर्माको भनाइ छ ।

विशेष सुर्खेतका सुब्बाकुना, बबई र पश्चिम सुर्खेतको कुइने नाकाबाट लागुऔषध भित्रिने गरेको छ । उनले सुर्खेतका विभिन्न फार्मेसीहरूले समेत लागुऔषधहरू बेचिरहेका बताए । 

छुट्टै शाखा र हेल्प लाइन विस्तार गर्नुपर्ने
प्रहरी नायब उपरीक्षक विश्वकर्माले सुधार केन्द्रमा अनुगमन, सवारी साधनमा चेकिङ, सादा पोसाकमा प्रहरी परिचालन गर्दा पनि लागुऔषध कारोबार झनै भयावह बन्दै गएको बताए । उनले यसलाई नियन्त्रण गर्नका लागि घर परिवार तथा विद्यालयका शिक्षकहरूले विशेष जोड दिनुपर्ने बताए । 

उनले विद्यालय र घर परिवारले तत्काल लागुऔषध नियन्त्रणका लागि सक्दो सहयोग गरेमा लागुऔषध नियन्त्रण केही हदसम्म नियन्त्रण हुने बताए । धेरै नागरिकले लागुऔषध नियन्त्रण गर्ने जिम्मा प्रहरीको सोच्ने भएकाले पनि लागुऔषध झनै भयावह हुँदै गएको डीएसपी विश्वकर्माको भनाइ थियो ।

यस्तै, कार्यक्रमका सहभागीहरूले प्रहरी प्रशासनले मात्र प्रयास गरेर नहुने भन्दै सबै पक्षले हातेमालो गरेर जानुपर्ने बताउँदै स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने बताए । 

यस्तै, लागुऔषध दुव्र्यसनी रोकथामका अध्यक्ष वसन्त कुँवरले लागुऔषध दुव्र्यसनी रोक्नका लागि आफूहरूले विगतदेखि नै काम गरेको बताउँदै यसलाई सामाजिक मुद्दाका रूपमा लिनुपर्ने बताए ।

उनले स्थानीय सरकारले लागुऔषध दुव्र्यसनी रोक्नका लागि योजना बनाउनुपर्ने सुझाव दिए । उनले स्थानीय सरकारले छुट्टै शाखा र हेल्प लाइन विस्तार गर्नुपर्ने भन्दै यससम्बन्धीको समिति बनाएर काम गर्नुपर्नेमा जोड दिए । लागुऔषध दुव्र्यसनी रोक्न प्रहरीको मात्र भूमिका नहुने भन्दै यसमा सबै पक्षको भूमिका हुने उनको भनाइ थियो ।

पत्रकारहरूले यस सम्बन्धमा बहस पैरवी गर्नुपर्ने सुझाव दिँदै लागुऔषध दुव्र्यसनीका कारण आमयुवाहरूमा ठूलो क्षति पुगेको र यसले देश विकासमा समेत नकारात्मक असर पर्ने बताए । 

यस्तै, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले लागुऔषध दुव्र्यसनी रोक्नका लागि पत्रकार महासंघले सचेतनासँगै अन्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
 

ADV

सम्बन्धित खबर

Advertise