दम्माम, साउदी अरब : साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली समुदायले मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर इद (इद–उल–अजहा) को अवसर पारेर विशेष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । युनाइटेड नेपाल फुटबल क्लबको आयोजनामा तेस्रो दमाम च्याम्पियन कप–२०८२ को तयारी अन्तिम चरणमा पुगेको आयोजकहरूले जानकारी दिएका छन् ।
उक्त फुटबल प्रतियोगिता अलखोबरस्थित अलतुक्बा फुटबल खेल मैदानमा सञ्चालन हुनेछ, जुन खसीबजारको नजिकै रहेको छ । आयोजक क्लबले फुटबलप्रेमीहरू र सम्पूर्ण इच्छुक नेपाली फुटबल क्लबहरूलाई यस प्रतियोगितामा सहभागिता जनाउन निमन्त्रणा गरेको छ ।
आयोजक युनाइटेडका म्यानेजर ओमबहादुर कुमालले भने, ‘यो प्रतियोगिता केबल एउटा खेल मात्र नभएर यहाँ रहेका प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूबीच आपसी सद्भाव, उत्साह र एकतालाई अझ प्रगाढ बनाउने एउटा महत्वपूर्ण माध्यम पनि हो । हामीले बकर इद जस्तो पवित्र अवसरमा यस्ता कार्यक्रम आयोजना गरेर आफ्नो मौलिकता र समुदायबीचको भाइचारालाई अझ बलियो बनाउने प्रयास गरिरहेका छौं ।’
उनले प्रतियोगितामा विभिन्न नेपाली फुटबल क्लबहरूको सक्रिय सहभागिता रहने र उत्कृष्ट प्रदर्शन गर्ने विजेता टोलीलाई आकर्षक पुरस्कारबाट सम्मानित गरिने जानकारी दिए । खेलको विस्तृत मिति, समय तालिका र अन्य आवश्यक जानकारी छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
गत रमादान इदमा पूर्वी क्षेत्रमा सम्पन्न दोस्रो दम्माम भेट्रान गोल्डकप–२०२५ को उपाधि चुम्न सफल युनाइटेडले आयोजना गर्न लागेको यस प्रतियोगिताले नेपाली समुदायमा रहेको फुटबल क्रेजलाई थप विस्तार गर्ने विश्वास लिइएको छ ।