– अपूर्व नेपाल
सूचना प्रविधि (आईटी) आजको युगको मेरूदण्डसरह बनिसकेको छ । विश्वव्यापी रूपमा आर्थिक, सामाजिक, शैक्षिक र प्रशासनिक क्षेत्रमा यसको प्रभाव क्रान्तिकारी रूपमा देखिएको छ । नेपाल पनि पछिल्लो केही दशकमा सूचना प्रविधिको विकासतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल, अनलाइन सेवा, डिजिटल भुक्तानी प्रणाली, इ–गभर्नेन्स लगायतका प्रविधिहरूको प्रयोग दिन प्रतिदिन बढ्दो छ । यसले प्रशासनिक पारदर्शिता, जनताको पहुँच, व्यापारिक सहजता र सूचना पहुँचमा ठूलो फड्को मारेको छ । यद्यपि, यसका सकारात्मक पक्षहरूसँगै नेपालमा सूचना प्रविधिसँग सम्बन्धित जोखिमहरू पनि तीव्र रूपमा बढिरहेका छन्, जसलाई समयमै सम्बोधन गर्न नसके भविष्यमा गम्भीर चुनौती उत्पन्न हुन सक्छ ।
नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर सुरक्षाको चुनौती पनि उस्तै रूपमा देखा परेको छ । सरकारी वेबसाइटहरूमा ह्याकिङ, डाटा चोरी, व्यक्तिगत सूचना चुहावट, वित्तीय ठगी जस्ता समस्या बढ्दै गएका छन् । विगत केही वर्षमा मात्र पनि नेपालका विभिन्न बैंक, सरकारी संस्था र निजी कम्पनीहरू साइबर आक्रमणको शिकार भएका उदाहरण प्रशस्त छन् । यी घटनाहरूले देखाउँछ कि हाम्रो डिजिटल संरचना अझैसम्म पनि बलियो, सुरक्षित र भरपर्दो बन्न सकेको छैन । प्रविधिमा आधारित सेवा दिँदै आएका संस्थाहरूले सुरक्षामा पर्याप्त लगानी नगर्दा तथा दक्ष जनशक्तिको अभाव हुँदा समस्याहरू थप जटिल बन्दै गएका छन् ।
यसबाहेक, सूचना प्रविधिको दुरूपयोगको अर्को पक्ष सामाजिक सञ्जालमा झनै स्पष्ट देखिएको छ । झूटा समाचार, भ्रमपूर्ण सूचना, चरित्र हत्या, नक्कली खाता सञ्चालन, साइबर बुलिङ, अश्लील सामग्रीको प्रचार–प्रसार जस्ता विषयहरूले सामाजिक सद्भावमा आघात पु¥याइरहेका छन् । खासगरी किशोर–किशोरी र युवाहरूमा सामाजिक सञ्जालको असन्तुलित प्रयोगले मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न थालेको छ । डिप्रेशन, आत्मविश्वासको कमी, एक्लोपन र सामाजिक विच्छेदन जस्ता समस्या गहिरिँदै गएको पृष्ठभूमिमा प्रविधिको जिम्मेवार प्रयोगबारे गम्भीर सोच आवश्यक देखिन्छ ।
सूचना प्रविधिको अर्को चुनौती भनेको डिजिटल खाडल हो । नेपालमा शहरी क्षेत्र र ग्रामीण क्षेत्रबीच प्रविधिको पहुँचमा ठूलो अन्तर छ । ग्रामीण बस्तीहरूमा इन्टरनेट सेवा अवरूद्ध, बिजुली अभाव, डिजिटल साक्षरताको कमीले गर्दा प्रविधि समावेशी रूपमा विकास हुन सकेको छैन । नतिजा स्वरूप सूचना प्रविधिले ल्याउने फाइदाहरू सबै नागरिकसम्म समान रूपमा पुग्न सकेका छैनन् । सरकारी सेवा, शिक्षा, स्वास्थ्य, वित्तीय पहुँच जस्ता महत्वपूर्ण क्षेत्रहरूमा प्रविधिको पहुँच नहुनु असमानताको कारक बन्दै गएको छ ।
यसैगरी, प्रविधिको आयातमा उच्च निर्भरता, स्वदेशी प्रविधिको विकासमा लगानीको कमी, अनुसन्धान पूर्वाधारको अभाव, नीति निर्माणमा ढिलाइ तथा कार्यान्वयनमा कमजोरी जस्ता संरचनात्मक समस्याहरूले पनि सूचना प्रविधिको विकासलाई थप जटिल बनाइरहेका छन् । नेपालमा सूचना प्रविधिसँग सम्बन्धित कानुन, नीति र नियमहरू भने समयानुकूल अद्यावधिक भइसकेका छैनन् । साइबर अपराध नियन्त्रण, व्यक्तिगत डेटा सुरक्षा, डिजिटल व्यापार नियमन, प्रविधि कम्पनीहरूको उत्तरदायित्व जस्ता विषयमा स्पष्ट र प्रभावकारी कानुनी ढाँचा नहुनुले साइबर क्षेत्रमा कानुनी अन्योल र असुरक्षा बढाइरहेको छ ।
सूचना प्रविधिको द्रुत विकासको युगमा नेपालले यसलाई अवसरको रूपमा मात्र होइन, चुनौतीको रूपमा पनि बुझ्न जरूरी छ । शिक्षा प्रणालीमा प्रविधिसँग सम्बन्धित विषयको समावेशीकरण, सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन, प्रविधि सुरक्षामा लगानी, कानुनी तथा नीतिगत संरचनाको सुदृढीकरण, जनचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखी डिजिटल पहुँच विस्तार, साइबर अपराध नियन्त्रणका लागि विशेष इकाईहरूको सुदृढीकरणजस्ता उपायहरू अवलम्बन नगरी प्रविधि सुरक्षित र दिगो बन्न सक्दैन ।
अन्ततः, सूचना प्रविधिले ल्याउने परिवर्तन अकल्पनीय फाइदाकर हुन सक्छ तर, त्यही प्रविधिको दुरूपयोगले समाज, राष्ट्र र नागरिकका लागि भयावह अवस्था पनि निम्त्याउन सक्छ । त्यसैले सूचना प्रविधिको विकास र विस्तार सँगसँगै सुरक्षाको पक्षलाई पनि समान महत्व दिइनु आवश्यक छ । प्रविधिमा आधारित समाज बनाउने लक्ष्यतर्फ अघि बढ्दा समावेशी, उत्तरदायी र सुरक्षित सूचना प्रविधि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको छ । यो न केवल सरकार, निजी क्षेत्र र प्राविधिक विज्ञहरूको जिम्मेवारी हो, बरू नागरिक तहमै प्रविधिको सचेत र जिम्मेवार प्रयोग गर्नेतर्फ अभिमुखीकरण पनि अनिवार्य छ । तब मात्र सूचना प्रविधिको विकासले नेपालको सामाजिक र आर्थिक विकासमा यथार्थमै सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
(लेखक नेपाल, साइबर विज्ञ हुन् ।)