काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि भन्दै आइतबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । श्रीमति तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, छोराबुहारी जयवीर–शिवाना र स्वकीय सचिव पनि रहेका भतिजा भानु देउवासहित देउवा सपरिवार बैंकक प्रस्थान गरेका हुन् ।
बैंककमा रहँदा सभापति देउवाले उपचार गराउने छन् भने परराष्ट्रमन्त्री राणाले संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को ८१ औँ सत्रमा सहभागिता जनाउने छिन् ।
परराष्ट्रमन्त्री राणा सोमबारदेखि सुरु हुने संयुक्त युएनस्केपको बैठकमा सहभागी हुनेछिन् । बैठक शुक्रबारसम्म चल्ने छ ।
नेपाल हाल युएनस्केपको अध्यक्ष छ । अध्यक्ष राष्ट्र भएका कारण मन्त्री डा. राणाले आयोगको ८१औँ सत्रको अध्यक्षता गर्नेछिन् । सत्रलाई मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग विषयमा उनको सम्बोधन केन्द्रित रहने छ ।
तर सभापति देउवा उपचार गराउन बैंकक गए पनि उनले के को उपचार गराउने सार्वजनिक भने भएको छैन । पेटको समस्याबाट पीडित देउवा यसअघि उपचारका लागि सिंगापुर जान्थे । तर यसपटक उनी उपचारको लागि पहिले नै गइरहेको सिंगापुर नगई बैंकक गएका छन् ।
देउवा यसअघि ३१ जेठ २०८०मा उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा उनको स्वास्थ्य जाँच हुँदै आएको छ । हरेक २÷२ वर्षमा फलोअपमा जानुपर्नेमा त्यतिबेला उनी ३ वर्षमा सिंगापुर गएका थिए ।
एमाले सशंकित
सरकारमाथि नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले लगातार दबाब दिइरहेको बेला देउवाको सिंगापुर भ्रमण भएको हो । यसले सत्तारुढ दलमाथि थप संकट उत्पन्न भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी ओलीको सरकार वैशाख महिनाभित्रै ढल्ने घोषणा गर्नु र सत्तारुढ मुख्य २ दलबीच खटपट सुरू भएको बेला सभापति देउवा पत्नीको सिंगापुर भ्रमणले एमालेभित्र शंका उत्पन्न भएको छ ।
सभापति देउवाले सत्तारुढ दलबीच कुनै समस्या नरहेको र यो गठवन्धन २०८४ सालसम्म नै जाने बताइ रहँला पनि कांग्रेसभित्रको एउटा खेमा भने आफ्नै सभापतिको भनाइबाट सन्तुष्ट छैन ।
सभापति देउवा बैंकक गएछि उनले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् । कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सभापति देउवाले आफू नफर्केसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको जनाएको छ ।
खड्का हालै बसेको कांग्रेस–एमाले नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी थिइनन् । सो बैठकमा महामन्त्री थापा पनि थिएनन् । पछिल्लो समय कांग्रेसका पदाधिकारी तहकै नेताहरूले सरकारको गति सुस्ताएको भन्दै सार्वजनिक रूपमा आलोचना बढाएका छन् ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्ता गठबन्धनमा असमझदारी पैदा भएको चर्चा भइरहँदा प्रधानमन्त्री ओली र देउवाले राष्ट्र बैंकको निर्देशक डा. गुणाकर भट्टको नाममा सहभाति जनाएपछि यो विषय टुंगिएको छ । भट्ट देउवाले अघि सारेको नाम हो ।
भट्टलाई गर्भनर बनाउने दुई नेताबीच सहमति भएपनि सरकारले उनलाई नियुक्त गरेको छैन । गभर्नरमा भट्टको नियुक्ति प्रक्रिया अघि नबढ्दै यो विषय अदालत प्रवेश गरेको छ । यस मुद्दामा आइतबारसुनुवाईको लागि पेशी तोकिए पनि मुद्दा हेर्न नभ्यार्ईनेमा राखिएको छ ।
उनको बैंकक भ्रमणलाई एमालेले भने शंकाको दृष्टिकोणले हेरेको छ । तर एमाले नेताहरू यसबारे मुख खालेका छैनन् ।
कांग्रेसले १७ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार लामो नजाने र नयाँ वर्षमा नयाँ सरकार आउने दाबी गरेको बेला कांग्रेसले पनि सक्रियता बढाएको छ ।
यद्यपी सभापति देउवाको निवासमा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र सरकारमा सामेल भएका मन्त्रीहरुको संयुक्त बैठकमा तत्काल सरकार फेरबदलको सम्भावना नरहेको निश्कर्ष निकालेको थियो । प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्डले चाहँदैमा सरकार बन्ने र ढल्ने नहुने जवाफ फर्काएका थिए ।
तर, सभापति देउवालाई भने पार्टीभित्रै दबाब रहेको छ । सडकमा व्यवस्थाविरोधी आन्दोलन, विपक्षीहरूको निरन्तर संघर्ष र भारतसँगको सम्बन्धमा सुधार नदेखिएपछि कांग्रेस नेतृत्व यतिबेला दबाबमा रहेको छ । वर्तमान सकरार गठन हुँदा एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयन नभएको भनेर कांग्रेसभित्रैबाट पनि नेतृत्वको आलोचना भइरहेको छ ।
कांग्रेसकै कतिपय नेताहरूले आगामी केन्द्रीय समितिको बैठकमा सरकारमा कांग्रेसको निरन्तरता वा ब्रेक लिने भन्नेबारे निर्णायक छलफल गर्ने बताएकाm छन् ।
सभापति देउवा उपचारका लागि भन्दै २०७५ देखि नै सिंगापुर जान लागेका हुन् । साउन २०७६ मा उनी साउनको अन्तिम साता सिंगापुर भ्रमणमा गएका थिए । त्यति बेला उनले पेटको जाँच गराएका थिए ।