विराटनगर : कुष्ठरोग प्रभावित बिरामीहरूको उपचार सेवा थप सुरक्षित, गुणस्तरीय र प्रभावकारी बनाउन विराटनगरस्थित कोशी अस्पतालमा स्वयम् हेरचाह कक्ष स्थापना गरिएको छ । विश्वास परियोजना अन्तर्गत फेयरमेड नेपाल र साहारा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा करिब तीन लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त कक्ष सोमबार एक औपचारिक समारोहबीच अस्पताललाई हस्तान्तरण गरिएको हो ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले रिबन काटेर कक्षको उद्घाटन गरिन् । कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि तथा कुष्ठरोगबाट प्रभावित बिरामीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा फेयरमेड नेपालका टिम लिडर शशीलाल कर्णले कोशी अस्पतालले विगतदेखि नै कुष्ठरोग उपचारमा उत्कृष्ट सेवा दिँदै आएको स्मरण गर्दै उपचार सेवाको गुणस्तर अझ सुदृढ बनाउन आफ्नो संस्थाले अर्थपूर्ण सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गरे । 'यहाँ कुष्ठरोग र हात्तीपाइलेको उपचार त हुँदै आएको थियो तर बिरामीले कसरी आफ्नै हेरचाह गर्ने भन्ने सिकाउने पूर्वाधार थिएन । अब यो कक्ष सञ्चालनमा आएपछि बिरामीलाई स्वयम् हेरचाह गर्ने सीप सिकाएर सम्भावित अपाङ्गता तथा जटिलता समयमै रोकथाम गर्न सकिन्छ' उनले भने ।
उनले कुष्ठरोगलाई केबल स्वास्थ्य समस्या नभई सामाजिक पूर्वाग्रहसँग समेत गाँसिएको रोग भएकाले यस्ता सचेतनामूलक कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने र समाजमा रहेको गलत धारणा हटाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
अस्पतालकी मेसु डा. झाले अस्पतालको कुष्ठरोग विभागलाई व्यवस्थित गर्न संस्थागत बजेटको अभावले चुनौती सिर्जना भइरहेको सन्दर्भमा फेरमेड र साहारा नेपालको यो सहयोगले राहत मिलेको बताइन् । यो कक्षले बिरामीलाई स्वच्छ, सुरक्षित र आत्मसम्मानयुक्त सेवा दिन सहज बनाउने र कुष्ठरोगको उपचारमा अझ प्रभावकारिता ल्याउने उनले भनिन् ।
फेयरमेड नेपालले यसअघि पनि कोशी अस्पताललाई पाँच लाख रुपैयाँ बराबरको औषधि, चिकित्सा उपकरण तथा कुष्ठरोग प्रभावित बिरामीहरूका लागि ‘सेल्फ केयर’ सामग्री प्रदान गरिसकेको छ । सरकारी तथा गैरसरकारी सहकार्यको राम्रो उदाहरण स्वरूप अस्पताल र फेयरमेडबीचको सहकार्य निरन्तर चलिरहेको छ ।
सोही दिन बिश्वास परियोजना अन्तर्गत फेयरमेड नेपाल, शाहारा नेपाल र करुणा फाउन्डेशनले संयुक्त रूपमा कुष्ठरोग तथा हात्तीपाइले प्रभावित बिरामीहरूका लागि स्वयम् हेरचाह सम्बन्धी अभ्यास कार्यक्रमसमेत सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा बिरामीहरूलाई आफ्ना हात–खुट्टा, शरीरका घाउ तथा चिलाउने भागको सरसफाइ, मलम लगाउने, उचित जुत्ता लगाउने जस्ता व्यवहारिक सीप सिकाइएको थियो ।
साहारा नेपाल मोरङका कार्यक्रम सुपरभाइजर सौरभ बगालेले विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा बिरामीलाई अभ्यास गराइएको र सिकेका सीप उनीहरूले घरमा समेत दोहोर्याउन सक्ने वातावरण बनाउने उद्देश्य रहेको जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख सागर प्रसाईले कुष्ठरोग उन्मूलनका लागि सबै पक्षले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । कुष्ठरोग मात्र स्वास्थ्य समस्या नभई सामाजिक मान्यता र पूर्वाग्रहसँग समेत जोडिएको भएकाले यसको अन्त्यमा समाजका सबै तहको साझा प्रयास जरुरी रहेको उनको भनाइ थियो ।
कार्यक्रमका सहभागीहरू, बिरामी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले यस्ता अभ्यास कक्ष र सचेतनामूलक गतिविधिले कुष्ठरोग प्रभावित व्यक्तिहरूमा आत्मविश्वास बढाउने र समाजमा सकारात्मक सोच विकासमा मद्दत गर्ने अपेक्षा व्यक्त गरेका थिए ।
फेयरमेड नेपालले कोशी अस्पतालसँग सहकार्य गर्दै आगामी दिनमा कुष्ठरोग तथा अन्य दीर्घरोगसम्बन्धी सचेतना, उपचार तथा पुनःस्थापना सेवाका कार्यक्रम थप प्रभावकारी ढंगले सञ्चालन गर्ने योजना बनाएको टिम लिडर कर्णले जानकारी गराए ।