काठमाडौं : एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत गरेको हो ।
सञ्चार मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम एनसेललाई सूचीकृत गरिएको हो । कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेश भएको निवेदन तथा कागजातको अध्ययनपश्चात एनसेलले सञ्चालन मापदण्ड तथा सुरक्षा अनुसरण गरेको पाइएको अधिकारीहरूले बताएका छन् ।
निर्देशिकाअनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधि भन्दा पहिला नै आफूलाई सुचिकृत गराएको हो । यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्णयबाट स्वीकृत भएको थियो ।
डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सुचीकरण गराएको छ । सूचीकरणसँगै अब नयाँ कानुनी व्यवस्थाअनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो र एकमात्र कम्पनी बनेको एनसेलले जनाएको छ ।
हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डाटा सेन्टर सञ्चालनमा छ । त्यसैगरी पोखरा र हेटौँडामा गरी दुई डिजास्टर रिकभरी डाटा सेन्टर सञ्चाालनमा छन् ।
सूचीकृत गर्ने प्रक्रियाका क्रममा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लान, डेटा सेन्टरको टियर, आईपी पुललगायतका कागजात र विवरण अध्ययन गरेको थियो । डाटा सेन्टर र क्लाउड सेवा प्रदायकहरूको औपचारिक सूचीकरणले सम्पूर्ण क्षेत्रमा नियमन, पारदर्शिता र साइबर सुरक्षालाई सुदृढ गर्ने अपेक्षा एनसेलको छ ।