जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शक्ति‘पावर’को व्यापक दुरुपयोग भएको पाइएको छ ।
प्रतिष्ठानका उच्च तहका पदाधिकारीहरुले लोकसेवा आयोगले लिएको परीक्षाको अन्तिम नतिजा नआउँदै त्यहि पदमा आफ्ना मान्छे राख्न करार विज्ञापन खोलेका हुन् ।
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुले एमाले निकट स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति मंगल रावत र रजिष्ट्रार नृपेन्द्र महतलाई प्रयोग गरी प्रतिष्ठानमा कार्यकर्ता भर्ती गरेको पाइएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपकुलपतिको पदावधि सकिसकेको छ भने रजिष्ट्रारको पदावधि पनि सकिँदैछ ।
प्रतिष्ठानका पदाधिकारीको पदावधि सकिँदै जाँदा आफू निकट आफन्त र पार्टी कार्यकर्ता भर्ती गर्ने नियतले करारको विज्ञापन खोलिएको हो । करार विज्ञापन खोलिएकोमा कानुन विपरीत भएको भन्दै अख्तियारमा उजुरी परकोे छ ।
शुक्रबारदेखि हुने भनिएको परीक्षा रद्द गर्दै कानुनको सम्मान गर्न अख्तियारमा उजुरी दिएका उजुरीकर्ताले आग्रह समेत गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०६९(पाँचौ संशोधन २०१ मंसिर २ गते समेतको परिच्छेद ४ को नियम ३२ मा प्रतिष्ठानको सभाबाट स्वीकृत दरवन्दीमा रही कुनै विशेष कामका लागि मात्र शिक्षक वा कर्मचारी भर्ना गर्न सकिने र खुला प्रतिस्पर्धाको आधारबाट मात्र करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था छ । तर प्रतिष्ठानमा हाल कार्यरत कर्मचारी, यसअघि स्थायी पदका लागि विज्ञापन गरेको पद संख्या हेर्दा दरबन्दीभन्दा धेरै पदहरु सभाबाट स्वीकृत समेत नगराइ विज्ञापन गराएको देखिन्छ । उक्त विज्ञापन अन्तरवार्ताबाट मात्र लिन खोजेकोले नियम विपरीत भएको र प्रतिष्ठानलाई थप आर्थिकभार पारी कार्यकर्ता भर्ती गर्न खोजिएको भन्दै उक्त कार्य यथाशिघ्र रोकी कारबाही गरी पाउँ भनी नाम उल्लेख नगर्ने शर्तमा अख्तियारमा उजुरी दिएका व्यक्तिले बताए ।
प्रतिष्ठान स्रोतका अनुसार कर्णाली प्रदेश जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं.२ मा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु तत्कालीन उपकुलपति डा.मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतले आफ्ना कार्यकाल सकिनै लाग्दा जाँदाजाँदै आफू निकटका कार्यकता र आफन्त भर्ती गर्ने मनसायका साथ मिति २०१ फागुन १२ गते प्रतिष्ठानको वेवसाइटमा करार सेवाका लागि भन्दै विज्ञापन प्रकाशन गरेको पाइएको छ । उक्त विज्ञापनको लिखित परीक्षा यहि वैशाख १२ गते तोकिए पनि कुन–कुन व्यक्तिको नाम निकालिँदै छ भन्ने पहिले नै सुनिश्चित भएकोले विज्ञापन रद्द गरिदिन भन्दै गत फागुन १९ गते उजुरी परेको हो ।
यसअघि मंसिर २ गते लोकसेवा आयोगमार्फत करिब २००जना भन्दा धेरै शिक्षक तथा कर्मचारीहरुको स्थायी पदपूर्तिका लागि सूचना प्रकाशन गरी उक्त सूचना अनुरुप लिखित परीक्षा संचालनको लागि फागुन ३ गते लोकसेवा आयोगले लिखित परीक्षाको लागि सूचना समेत जारी गरिसकेको अवस्था छ । तर प्रतिष्ठानका पदाधिकारीको पदावधि सकिन लाग्दा आफू निकटका कार्यकता भर्तीको उद्देश्यले यो विज्ञापन गरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।
अख्तियारमा जाहेर उजुरीमा प्रतिष्ठानका पदाधिकारीले जाँदाजाँदै भर्ती गर्न खोजका पद र व्यक्तिको स्पष्ट किटान पनि गरिएको छ । स्थायी र करार पदमा आइटी अफिसर र रेडियोग्राफर दोहोरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइटीमा अहिले पनि २ जना कर्मचारीले काम गरिरहेका छन् । प्रतिष्ठानको मंसिरमा सार्वजनिक गरिएको विज्ञापनमा एक स्थायी पद खोलिएको छ । फेरि पनि अहिले आफ्ना पार्टीका र आफ्नो मान्छेहरुलाई सेटिङ्ग गर्न थप एक जना करार आइटीको विज्ञापन खोलिएको आरोप लागेको छ । प्रतिष्ठानले रेडिया ग्राफरमा पनि कर्मचारी पर्याप्त हुँदाहुँदै स्थायी र करार दुवै खोलेको छ ।
प्रतिष्ठानको लाइब्रेरी कक्षमा अहिले पनि तीनजना कर्मचारीहरुले काम गरिरहेका छन् । जहाँ दरबन्दी नै छैन । अस्पताल प्रशासनले अहिले थप १ जना करार कर्मचारीको माग गरेको छ । प्रतिष्ठानको अस्पतालको ल्यावमा अहिले १२ जना कर्मचारी कार्यरत छन् । जो अस्पतालका लागि पर्याप्त हो । तर ल्याव टेक्नोलोजिष्ट, रेडियो टेक्नोलोजिष्टमा आफ्ना मान्छेहरुलाई घुसाउन फेरि पनि करार विज्ञापन खोलिएको एक कर्मचारीले बताए । विज्ञापनको धेरैजसो पदमा अन्तरवार्ताबाट मात्र परीक्षा लिन खोजेको देखिएका ऐन विपरित रहेको स्रोतले जनाएको छ ।