
रौतहट : रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँ, प्रतिबन्धित लागुऔषध र भन्सार छली भित्र्याइएका ९९५ वटा कुखुराका चल्ला बरामद गरेको छ। घटनामा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान बौधिमाई नगरपालिका–७ स्थित बंकुल–नरकटिया सडकखण्डमा मोटरसाइकल जाँच गर्ने क्रममा ३३ वर्षीय भारतीय नागरिक टुना दास पक्राउ परेका हुन् । उनको मोटरसाइकलको ब्याट्री राख्ने स्थानमा लुकाएर ल्याइएको १० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। रकमको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, आइतबार राति कटहरिया बजारमा कोठा भाडामा लिएर बस्दै आएका १९ वर्षीय भारतीय नागरिक शिवम महतोको कोठाबाट प्रतिबन्धित लागुऔषधका २२० ट्याब्लेट बरामद गरिएको छ । मिठाई बिक्री गर्दै आएका महतोलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, सोमबार राति बौधिमाई नगरपालिका–८ सरमुजवाबाट भारतबाट भन्सार छली ल्याइँदै गरेका ९९५ वटा कुखुराका चल्ला बरामद गरिएको छ । दुईवटा साइकलमा १२ कार्टुनमा राखेर ल्याइँदै गरेका चल्लाको बजार मूल्य करिब ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद चल्ला स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त गौतमले सीमा क्षेत्रमा हुने चोरी पैठारी, लागुऔषध ओसारपसार र आपराधिक गतिविधि नियन्त्रणका लागि गस्ती तथा निगरानी बढाइएको बताएका छन् ।