२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्छ : राष्ट्रपति पौडेल

मध्यान्ह
२०८२ वैशाख १२ गते ०८:५३
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ ।

राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

सन्देशमा उनले, “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना प्रमुख रहेका छन् । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान आकृष्ट गराउँदछु”, भनेका छन् । 

नेपाल सरकारले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणको अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सम्पन्न गरिसकेको र बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको उल्लेख गर्दै उनले सन्देशमा पुनर्निर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधि प्रयोग गरिएकामा खुसी व्यक्त गरेका छन् । 

उनले पुनर्निर्माण तथा पुन:स्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिएका छन् । 

सन्देशमा राष्ट्रपतिले प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने हुँदा भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि भूकम्पीय जोखिम न्यूनीकरण, पुनर्निर्माण एवं पुन:स्थापनालगायत कार्यमा सबै नागरिक एकआपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । 

ADV

सम्बन्धित खबर