नेपाली गीत, संगीतको क्षेत्रमा मुकारुङ परिवारको अतुलनिय योगदान रहेको छ । मुकारुङ परिवारमा कुनै ब्यक्ति छैनन जो गीत, संगीतमा नलागेका होस् । सबै जना आफ्नो विधामा चर्चित छन् । को–को छन् त यो क्षेत्रमा मुकारुङ परिवारका सदस्य भन्ने कुरा पाठक तथा संगीतका पारखिहरुलाई थाहा नै होला । सन्दर्भ हो संगीतकार पारस मुकारुङको । कुनै समयका चर्चित संगीतकार पारस मुकारुङ हालै सम्पन्न संगीतकार संघ नेपालको १० औँ साधारण सभाले अध्यक्षमा चयन गरेको छ ।
नेपालका गायक, संगीतकार र रचनाकारले उमेरमा गरेका रचनाको संरक्षण, संबद्र्धनमा जुट्दै आएका मुकारुङ उनीहरुका अधिकारका लागि लड्न ढिला भएको र आफु निरन्तर उहाँहरुको हितको पक्षमा लागिरहेको बताउँछन् । गीत, संगीतको क्षेत्रमा बिबिध समस्याहरु रहेको र बिस्तारै समाधान हुने कुरामा विश्वस्त रहेका संगीतकार मुकारुङ पछिल्लो समय पाइरेसी आम सर्जकको टाउको दुखाइको विषय बनेकोमा भने चिन्तित देखिन्छन् । झण्डै तीन दशकदेखि संगीत सिर्जनामा सकृय पूर्वि जिल्ला भोजपुरका स्थानीय वासिन्दा संगीतकार मुकारुङका थुप्रै सिर्जनाहरु श्रोता रुचिका रहे, जसमाः आधा उमेर निद्रैमा बित्यो..., खोटाङ हलेशी..., अँधेरीमा जुन फुल्दा.... लगायतका छन् । संगीतकार संघ नेपालका अध्यक्ष रहनु भएका पारस मुकारुङले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानी :
बधाई छ तपाईंलाई
धन्यवाद ।
बिगतमा कस्ले के गर्यो भन्दा पनि तपाईंको कार्यकालमा श्रष्टाहरुले महसुस गर्न सक्ने पक्ष के हुनेछ ?
संगीतकार सङ्घ नेपाल विगत दश वर्षदेखि श्रष्टाहरुको प्रतिलिपि अधिकारलाई सुनिश्चित गर्नको लागि लागिपरिरहेको संस्था हो । विगतमा धेरै कामहरु भएका छन् भने रिजल्ट आउन बाँकी कामहरु केही छन्, यो कार्यकाल पूर्णरुपमा परिणाम मुखी हुनेछ ।
पेशागत हितको लागि बुँदागत रुपमा तालिका बनाउनु भएको छ कि, एकमुष्ठ एजेण्डा ल्याउँदै हुनुहुन्छ , र कस्तो हुनेछ ?
पेशागत हितका लागि गर्नुपर्ने धेरै बुँदाहरु छन् तथापि हामीले श्रष्टाहरुको रोयल्टी सँगसँगै उनीहरुको आर्थिक र नैतिक अधिकारलाई सुनिश्चित गर्न सक्यौं भने यो नै सबै भन्दा ठूलो उपलब्धि हुनेछ ।
यो सिर्जनशील विद्या भएकोले गीत, संगीतको क्षेत्रलाई विवादरहीत बनाउन के गर्नु पर्ला र यसमा संघको भूमिका कस्तो रहन्छ ?
तपाईंलाई थाहा हुनुपर्छ जहाँसम्म अहिले केही स्रष्टाहरुको समस्याको समाधान हामिले खोजिरहेका छौं । संगीतकार संघ नेपालको भूमिका जहिले पनि व्यवस्थित संगीत क्षेत्रको निर्माणको लागि स्रष्टा अधिकारको सुनिश्चितता गर्नु रहने छ ।
गीत, संगीतको कुरा गर्नु पर्दा एउटै पेशामा लाग्नेहरुको पनि अनेक संस्था जन्मेका छन् । एउटै छाताभित्र समेटिन सकिन्न ?
भिन्न, भिन्न पेशाका पेशाकर्मीहरुको संस्था हुनु भनेको एकदम राम्रो कुरा हो किनभने यसले आफ्नो पेशालाई मजबुत बनाउँछ । तर तपाईंले भने जस्तो सबै यस्ता संस्थाहरूलाई मिलाएर संगीतकर्मिहरुको छाता संस्था बन्दा खेरी अवश्य राम्रो हुन्छ ।
कुनै कार्यालयको कर्मचारी वा ब्यवसायमा संलग्न नभएका स्रष्टाको आर्थिक अवस्था कमजोर भएको प्रायः देखिन्छ । त्यस्ता श्रष्टाहरुको बृध्दावस्थाको लागि भविष्यमा संघले के के गर्न सक्छ ?
मैले माथि नै भनिसके स्रष्टाहरुको आर्थिक र नैतिक अधिकारको सुनिश्चितता नै हाम्रो प्रमुख उद्देश्य हुनेछ भनेर । आर्थिक अधिकारको सुनिश्चितताले सम्पूर्ण स्रष्टाको आर्थिक हैसियत सवल बनाउनेछ भने हामीले स्रष्टाहरुको दुःखमा संस्थासंगै हुनुपर्छ भन्ने उद्देश्यले संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरेर दुःखमा परेका स्रष्टाहरुलाई सहयोग गर्दै आइरहेका छौं, यो कार्यकालमा यसलाई अझ मझबुत बनाउने छौं ।
गीत, संगीत भन्ने वित्तिकै देश काल परिस्थितिलाई सुष्मरुपले अध्यायन गरी सोही अनुसारको सिर्जना प्रष्फुटित हुने र व्यक्त गर्ने विद्या, बैधिक पक्ष हो । यहाँ पनि शोशणको चर्चा हुने गर्छ नि ?
अवश्य पनि सिर्जना भनेको सामान्य अर्थमा लिन नहुने बिधा हो, यो बौद्धिक क्षेत्रमा शोषण गर्नेहरु निश्चित रुपमा सजायको भागिदार हुनेछन् ।
प्रतिभाले भन्दा पनि पैसाले टिक्ने क्षेत्र भन्छन् नि, तपाईं के भन्नु हुन्छ ?
यो कुरामा मेरो पुर्ण विमती छ । प्रतिभा र साधनाले खारिएको स्रष्टा सधैं यो क्षेत्रमा टिकिरहन्छन् । पैसाले सिर्जना क्षेत्रमा स्थापित हुनु असम्भव छ । यदि त्यसो हुँदो हो त संसारका धेरै धनाड्यहरु सर्जकको रुपमा विश्व परिचीत हुन्थे होला ।
अन्त्यमा ....?
कोरोना कहरका कारण विश्व नै प्रभावित बन्यो । गीत, संगीतको क्षेत्रमा पनि प्रभाव पार्यो । रेकर्डिङ स्टुडियोहरु बन्द रहे, आपसी भेटघाटमा दुरी रह्यो । बिस्तारै वातावरण सहज हुँदैछ संगीत सिर्जनाका कामहरु हुन थालेको छ यो खुशीको पक्ष हो । सम्झनु भएकोमा मध्यान्ह दैनिक परिवारलाई धन्यवाद ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies