काठमाडौं : आन्दोलनरत आवासीय चिकित्सकहरू शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।
आवासीय चिकित्सकलाई सरकारी ८ औँ तह सोसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै उनीहरूले सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।
नेपाल चिकित्सक संघको आह्वानमा सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज, ओपीडी सेवा बन्द गरेका हुन् । संघका अध्यक्ष अनिलविक्रम कार्कीले देशभरका अधिकांश सरकारी अस्पताल, मेडिकल कलेज र केही निजी अस्पतालको सेवा अवरुद्ध भएको बताए ।
ओपीडीमा आएका बिरामी भने उपचार नपाएर फर्कन बाध्य भएको विभिन्न अस्पतालहरूले जनाएको छ ।
काठमाडौं उपत्यकाका वीरलगायत ठूला अस्पतालमा पनि ओपीडी सेवा सञ्चालन हुन सकेन । काठमाडौं उपत्यकाका चिकित्सक सेवा रोकेर माइतीघरमा धर्नामा सहभागी भएका थिए ।
आवासीय चिकित्सक एक महिनादेखि निर्वाह भत्ताको माग गर्दै आन्दोलनमा छन् । उनीहरूको आन्दोलनमा चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएपछि देशभरका स्वास्थ्य संस्थामा सेवा प्रभावित बनेको हो ।
चिकित्सा शिक्षा आयोगले फागुनदेखि मासिक साढे ४८ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरे पनि निजी मेडिकल कलेजले त्यसलाई निर्णय अस्वीकार गर्दै आएका छन् । भत्ता उपलब्ध गराउँदा घाटा हुने निजी मेडिकल एसोसिएसनले जनाएको छ ।