२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘नयाँ–नयाँ प्रविधिअनुसार गीत संगीतको बजार बढ्दै छ’

ADV
२०८१ असार २२ गते ०६:३५
‘नयाँ–नयाँ प्रविधिअनुसार गीत संगीतको बजार बढ्दै छ’

हेमन्त शिशिरले नेपाली गायन क्षेत्रमा आफूलाई अग्रपंक्तिमा राख्दै आफ्ना प्रस्तुति दिँदै आएका छन् । ६ सयको हाराहारीमा गीत स्रोता÷दर्शकमाझ ल्यएका उनका ‘तिमीबिना सक्दिन म, हे भगवान, जसको दिलमा, किन तिमीलाई के भयो र, तिम्रो सम्झनामा, धेरै माया गर्छौ मलाई तिमीले, देख्न मन लाउन्या’ जस्ता स्रोता दर्शकले औधि मन पराएका छन् । गायनसँगै कम्पोज, एरेन्जमा पनि उनको उत्तिकै दखल रहेको छ । नयाँ–नयाँ प्रविधिअनुसार गीत संगीतको बजार बढ्दै गएको बताउने गायक हेमन्त शिशिरसँग मध्यान्ह दैनिकका लागि लक्ष्मण पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

यहाँलाई नेपाली गीत संगीत क्षेत्रमा के कुराले आकर्षित गर्‍यो ?

सानैदेखि गीत गाउनमा रुची थियो मेरो । स्कुलमा हुने विभिन्न प्रतियोगितामा भाग लिन्थें । यस्ता प्रतियोगितामा म प्रायः प्रथम हुन्थें । सबैले राम्रो छ भनेर तारिफ गर्नुहुन्थ्यो । यसैक्रममा गीत रेकर्डिङ गर्नका लागि भनेर काठमाडौं आएँ । गीत रेकर्ड पनि गरियो । त्यसपछि निरन्तर यही क्षेत्रमा आफूलाई समर्पित गरेको छु ।

कति गीत गाउनुभएको छ होला यहाँले अहिलेसम्म ?

हजुर, ठ्याक्कै हिसाब गरेको त छैन । यस्तै लगभग ६ सयको हाराहारीमा गीत गाएको छु ।

यहाँको स्वरमा रहेका केही गीतको नाम लिनुपर्दा ?

‘तिमीबिना सक्दिन म, हे भगवान, जसको दिलमा, किन तिमीलाई के भयो र, तिम्रो सम्झनामा, धेरै माया गर्छौ मलाई तिमीले, देख्न मन लाउन्या’ जस्ता धेरै रहेका छन् ।

यति धेरै गीत गाउनुभभयो, धेरै लोकप्रिय पनि छन् । हेमन्त शिशिर भनेर कुन गीतले चिनायो जस्तो लाग्छ ?

मेरा प्रायः सबै गीत स्रोता÷दर्शकले मन पराउनुभएको छ । त्यसमध्येमा पनि ‘तिमीबिना सक्दिन म’, ‘हे भगवान’ जस्ता गीतले मलाई हेमन्त शिशिर भनेर चिनायो भन्ने लाग्छ ।

गायनसँगै कम्पोज र एरेन्जमा पनि त्यतिकै सक्रिय रहेको पाइन्छ नि ?

हजुर, गायनसँगै कम्पोज र एरेन्ज पनि गर्ने गरेको छु । यी एक अर्काका परिपूरक क्षेत्र हुन्, सम्बन्धित क्षेत्र हुन् । 

अहिलेको नेपाली गीत संगीतको बजार कस्तो पाउनुहुन्छ ?

राम्रो छ । नयाँ–नयाँ प्रविधिअनुसार गीत संगीतको बजार बढ्दै छ ।

आफैंले चाहिँ नेपाली गीत संगीत क्षेत्रमा कस्तो योगदान पुर्‍याएँ भन्ने लाग्छ ?

म गायक भएको हैसियतले थोरै भए पनि नेपाली गीत संगीत क्षेत्र अलि फराकिलो होस् भनि देश विदेशसम्म निरन्तर कर्म गरिरहेको छु । म निरन्तर आफ्नो काममा खटिरहनेछु । के कति योगदान पुर्‍याएँ भन्दा पनि म आफू मेरो कर्ममा निरन्तर लागिरहेको छु ।

यो क्षेत्रमा रहेर यहाँलाई धेरै मानसम्मान, पुरस्कार र अवार्डहरू पनि प्राप्त भएका छन् ?

निरन्तर काम गर्दै जाँदा मेरा प्रस्तुतिले चर्चा पाउँदै गर्दा विभिन्न मानसम्मान, पुरस्कार र अवार्ड प्राप्त भएका छन् । डाइमण्ड म्युजिक अवार्ड २०८०, नेपाल म्युजिक फेसन अवार्ड २०२३ लगायतमा मैले अवार्ड प्राप्त गरेको छु ।

एउटा राम्रो गायक हुनका लागि महत्वपूर्ण कुरा के रहेछ जस्तो लाग्छ  ?

मलाई के लाग्छ भने पहिलो कुरा त गड गिफ्ट स्वर हुनुपर्‍यो । अनि निरन्तर सिकेर, अभ्यास गरेर मात्र एउटा राम्रो गायक बन्न सकिन्छ । निरन्तरको साधनाले नै सफलता दिलाउँछ । आफूसँग भएको प्रतिभालाई खारेर पूर्णता दिन सक्नुपर्छ भन्ने लाग्छ ।

यहाँ सफल गायक कि व्यस्त गायक ?

सफलताको कसी के हो भन्ने कुरा हो । आफूले सबैभन्दा राम्रो गर्ने प्रयास गरिरहेको हुन्छु म । मेरो क्रियशनलाई मन पराइदिनुभएको छ त्यसैमा मैले आफ्नो सफलता देखेको छु । फेरि मलाई के लाग्छ भने चर्चामा आउनेबितिकै सफलता पाइयो भन्ने होइन । म निरन्तर सक्रिय नै छु त्यही नै मेरो सफलता हो । काम पाइरहेको हिसाबले व्यस्त पनि छु भन्नु पर्ला ।

तपाईं कसका लागि गीत–संगीत सिर्जना गर्नुहुन्छ ?

पहिलो कुरा आफ्नो आत्मसन्तुष्टि र स्रोताका लागि अनि मेरो प्रोफेसन पनि यही भएकाले जीविका चलाउनका लागि पनि काम गर्छु ।

ADVADV

सम्बन्धित खबर

Advertise