काठमाडौं : ३ हप्तादेखि शैक्षिक हडतालमा रहेका सामुदायिक विद्यालयका शिक्षक र नेपाल सरकारबीच आज शनिबार वार्ता हुने भएको छ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शुक्रबार नै आन्दोलनरत शिक्षकका नेतासँग वार्ता गर्न खोजे पनि शिक्षकहरूबीच आवश्यक समन्वय गर्न नसक्दा वार्ता रोकिएको थियो ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि सडक आन्दोलनमा रहेका देशभरका हजारौं शिक्षक २४ दिन सडकमा बिताइसकेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका मागका सम्बन्धमा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिँदै आएका कारण समस्या समाधान हुन नसकेको नेपाल शिक्षक महासंघका नेताहरूले बताएका छन् ।
महासंघको अगुवाइमा भएको आन्दोलनलाई प्रधानमन्त्री ओली भने पेलेरै तुहाउने योजनामा छन् । तर, शिक्षहरू शिक्षा ऐन नलिई नजाने भनेर निरन्तर सडकमा नाचगान र नारा जुलुस गरिरहेका छन् ।
सरकार र आन्दोलनरत शिक्षकबीच शनिबार बिहान ७ः३० बजे वार्ता हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
‘वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गर्नुभएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले सर्वोच्च अदालतले बिहीबार जारी गरेको आदेश आज प्राप्त भएको र उक्त आदेशअनुसार नेपाल शिक्षक महासंघसँग छलफल गर्न लागिएको जनाएको छ ।
शिक्षक महासंघका अध्यक्षसहित पदाधिकारीलाई छलफलमा सहभागी हुन मन्त्रालयले आह्वान गरेको छ । उक्त वार्ता निर्णायक हुन सक्ने आँकलन गरिएको छ । शिक्षक महासंघले भने ऐन जारी हुने विषयमा विश्वस्त नभएसम्म आन्दोलनबाट नफर्कने जिकिर गर्दै आएको छ ।