रौतहट : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रमुख उमाकान्त आचार्यले उजुरी सूचनाको रूपमा मात्र रहने भन्दै यसलाई मुद्दाको रूपमा लिन नहुने बताएका छन् ।
रौतहट गरुडास्थित कलवार धर्मशालामा शुक्रबार आयोजित एकदिने ‘सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहको भूमिका’विषयक कार्यक्रममा आचार्यले प्रमुख आचार्यले अख्तियारमा उजुरी पर्दैमा आत्तिनु नपर्ने बताए ।
अख्तियारमा उजुरी परेपछि अख्तियारले अनुसन्धानका लागि उजुरीसँग सम्बन्धित व्यक्तिलाई बोलाएर बयान लिने गरेको र सबैको बयान सकिएपछि तथ्यगत प्रमाणको आधारमा मात्र विशेष अदालतमा मुद्दा दायर गर्ने गरिएको उनले बताए ।
विशिष्ट अतिथिका रुपमा रहेका प्रमुख आचार्यले भने, ‘धेरैले उजुरी दिएर अख्तियारमा मुद्दा दिएको छु भन्छ, तर त्यो उजुरी हो, मुद्दा होइन्, त्यो केवल सूचना मात्र हुन्छ, उजुरी दिएकै आधारमा कोही दोषी वा निर्दोष सावित हुँदैन ।’
अख्तियारले अनुसन्धानको क्रममा उजुरीसँग सम्बन्धित कागजातहरू माग्दा धेरै स्थानीय तह र अन्य सरकारी कार्यालयहरुले ढिलासुस्ती गर्ने गरेको बताउँदै उनले अख्तियारले कागजात माग्ने बित्तिकै तुरुन्त उपलब्ध गराउनेतिर ध्यान दिनुपर्ने बताए ।
जति छिटो कागजात पठायो त्यति छिटो नै उजुरीको किनारा लाग्ने अर्थात् फर्छ्यौट हुने भएकोले अख्तियारले मागेकै बेला आवश्यक कागजात उपलब्ध गराइ अनुसन्धान कार्यमा सघाउन उनले उपस्थित जनप्रतिनिधि तथा सरोकारवाला सबैलाई आग्रह समेत गरे ।
जनप्रतिनिधि र कर्मचारीहरु आ–आफ्नो कार्यप्रति पूर्ण वफादार, उत्तरदायी एवं जिम्मेवार भइ इमान्दारीका साथ पारदर्शी ढंगले काम ग¥यो भने भ्रष्टाचार आफै समाप्त भएर जाने तथा सुशासन कायम हुने उनले बताए ।
गरुडा नगरपालिका कार्यालयको सहकार्य, जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजन तथा तराई विकास तथा सञ्चार नेपाल काठमाडौंको आयोजनामा सम्पन्न कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले रौतहट जिल्लामा सुशासन प्रवद्र्धनको लागि सरोकारवालाहरुसँग समय–समयमा छलफल तथा सर्वपक्षीय बैठक सञ्चालन हुँदै आइरहेको बताए । उनले भ्रष्टाचार नियन्त्रणको कार्यमा आफूहरुले आयोगलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । जनताको इच्छा, आकांक्षा र चाहना पूरा नभएको अवस्थामा अख्तियारमा उजुरी पर्नु स्वभाविक रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी खड्काले जनताको चाहना र इच्छा आकांक्षा अनुसारको काम गरी अख्तियारको कारबाहीबाट जोगिनेतर्फ ध्यान दिन जनप्रतिनिधिहरुलाई सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि महालेखा परीक्षकको कार्यालय काठमाडौंका सचिव पदमराज पौडेल र विशिष्ट अतिथि आयोग हेटांैडाका प्रमुख आचार्यले सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा प्रवद्र्धनात्मक, निरोधात्मक तथा दण्डात्मक कार्यहरु गर्दै आइरहेको बताए ।
कार्यक्रममा तराई विकास तथा सञ्चार केन्द्र काठमाडौंका अध्यक्ष गोविन्द चौलागाईंले सुशासन प्रवद्र्धनमा रौतहटका स्थानीय तहका प्रमुख तथा कार्यालय प्रमुखहरुसँग सहकार्यको अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रममा गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद कलवार, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक एसपी दिलीप घिमिरे, सशस्त्रका एसपी सन्तोष कुमार बस्नेत, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायत जिल्लाका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतसँगै कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।