देवेन्द्रकुमार काफ्ले (देवेन्द्र थुम्केली) हाल नेपाल ललतिकला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव छन् । बच्चैदेखि कलामा रुचि राख्ने उनले ललितकलामा उच्चशिक्षा हासिल गरेका छन् । काठमाडौं विश्वविद्यालयबाट ४ वर्षे स्नातक तहको शिक्षा लिएका थुम्केलीले एसियाली कलाबारे गहिरो अध्ययन गरेका छन् ।
नेपालका मौलिक रैथाने कलामा रुचि राख्ने उनले थारू कलाका बारेमा पनि अध्ययन गरेका छन् । नेपाली कला र पत्रकारिता क्षेत्रमा २ दशक बढी सक्रिय रहेका थुम्केलीसँग नेपाली ललितकलाको अवस्था, समस्या, अवसर र चुनौतीबारे मध्यान्ह राष्ट्रिय दैनिकका लागि अस्मिता बमले गरेको कुराकानीको संवादित अंश प्रस्तुत छ ।
तपाईंको कला यात्रा कसरी सुरु भयो ?
सानोमा पुस्तकमा भएका चित्रहरूलाई भित्ताहरूमा कोर्ने, माटाको काम गर्ने, काठका बन्चरो, हँसियाहरू बनाउने, खुकुरी बनाउनेतर्फ ध्यान हुन्थ्यो । बिस्तारै आईए पढ्न पर्वत गइयो । त्यहाँ गएपछि ललितकला क्याम्पस छ भन्ने थाहा भयो अनि त्यताको पढाइ सकेर २०५५ सालतिर काठमाडौं आएर ललितकला पढ्न सुरु गरें ।
त्यहाँ आईएफए पढें । नेपाली विषयमा स्नातक पनि त्रिचन्द्र क्याम्पसमा पढें । फेरि ललितकलामा आएँ । ४ वर्षे स्नातक पढ्ने भनेर काठमाडौं विश्वविद्यालय गइयो । त्यो सकेर फेरि ललितकला आएँ । कलाकै बारेमा अध्ययन गरें । साउथ एसियन कलाका बारेमा पनि म एक्लैले अध्ययन गरेको थिएँ । पछि थारू संस्कृतिका बारेमा थेसिस गरें, जसले थारू कलालाई मूलधारमा पु¥याउन पनि सहयोग ग¥यो । यसपछि कार्टुन, स्केच सबैतिर रुचि बढ्दै गयो ।
ललितकला के हो ?
पूर्वीय मान्यताले वाङ्मय, वास्तुकला, चित्रकला, मूर्तिकला र संगीतलाई ललितकला मानेको छ । तर, ललितकलाभित्र यी सबै पर्छन् । लालित्यपूर्ण, राम्रो कलालाई नै ललितकला भन्ने हो । चाहे त्यो गीतबाट आओस्, चाहे काव्यको रूपमा या कथाको रूपमा, चाहे रेखा, वास्तु, मूर्ति सबै ललितकला हुन् ।
कार्टुन र स्केचमा के फरक छ ?
कार्टुन समसामयिक विषयमा बनाइन्छ । विषयगत थिम बुझेको हुनुप¥यो । हरेक क्षेत्रका विषयका बारेमा जानकार हुनुप¥यो र त्यहीअनुसारको व्यंग्यात्मक प्रस्तुति दिन सक्नुप¥यो । तर, स्केच कथामा वा लेख्य सामग्रीमा आधारित भएर बनाइन्छ । लेख्य सामग्रीलाई सजिलो तरिकाले बुझाउन स्केच बनाइन्छ ।
तपाईंले सुरु गर्दाको नेपालको कला क्षेत्र र अहिलेको कला क्षेत्रमा के–कस्ता फरक छन् ?
त्यो समयमा अध्ययनकै लागि पनि प्रतिस्पर्धा गर्नुपथ्र्यो तर अहिले त्यस्तो छैन । विश्वविद्यालयहरूले अध्यापन गराइरहेका छन् । कक्षा ११, १२ मै पनि कलासम्बन्धी विषय समावेश छन् । योसँगै कला सबै क्षेत्रमा चाहिन्छ । एउटा पानीको बोतल डिजाइन गर्ने पनि आर्टिस्ट नै हुन्, औषधिको ट्याब्लेट बनाउने पनि । पहिला अध्यापन गराउँदा एप्लाएर हुन्थ्यो, अहिले ग्राफिक कम्युनिकेसन हुन्छ । पहिले कलाभित्रका सबै विधा पढ्नुपथ्र्यो, अहिले छान्न पाइन्छ ।
एआईको प्रयोग बढ्दो छ, यसले कला क्षेत्रलाई कत्तिको असर पारेको छ ?
चुनौती सँगसँगै अवसर आउँछ । क्यामेराकै आविष्कार हुँदा पनि युरोपमा जुलुस निकालेका थिए त्यहाँका आर्टिस्टहरूले । समाज नयाँ ढंगमा गयो । प्रविधिले चेतनालाई धेरै माथि लैजान्छ । एआई आयो भनेर डराउनुपर्ने छैन । यसलाई अवसरको रूपमा बदल्ने हो ।
एआई बनाएको पनि मान्छेले नै हो, एआईले मान्छे बनाएको होइन । हाम्रो चेतना झन् उन्नत स्तरको बनेको छ । हलो पनि टुल (साधन) नै हो, कम्प्युटर पनि । उसै पनि आर्टको सौदर्य डिजिटलमा पाउन सकिन्नँ ।
दोस्रो जनआन्दोलपछि तत्कालीन ‘नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान’लाई ३ भागमा विभाजन गरियो, त्यसको औचित्य थियो र ?
नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल प्रज्ञाप्रतिष्ठानका आफ्ना–आफ्ना काम छन् । एउटैमा हुँदा कति कुरा असम्भव थिए । यी तीनै प्रतिष्ठानका टेक्निकल कुरा पनि फरक छन् । ललितकलामा ज्ञान मात्रले पुग्दैन, सीप पनि चाहिन्छ, जुन भौतिक रूपमा पनि देखियोस् । एउटा मात्र विभाग हुँदा काम कारबाही त्यसले थेग्न सक्दैनथ्यो । यस कारण यी हरेक क्षेत्र आफैंमा बृहत् र विशिष्ट छन् । यसका लागि ३ वटै प्रज्ञाप्रतिष्ठानको आवश्यकता र अपरिहार्यता महसुस भएको हुन सक्छ । यसले केही बिग्रिएजस्तो लाग्दैन ।
नेपाल प्रज्ञाप्रतिष्ठानबाहेकका २ प्रतिष्ठानले आफ्ना भौतिक संरचनासमेत बनाउन सकेका छैनन्, काम के गर्लान् ? भन्ने टिप्पणी छ । यसलाई कस्तो रूपमा लिनुभएको छ ?
भौतिक संरचना चाहिन्छ, नचाहिने होइन तर काम ठूलो कुरा हो । कतिपय नीतिगतन कुराहरू हाम्रो हातमा छैनन् तर हाम्रो पालामा योजनाको ६० प्रतिशत काम हामीले गरेका छौं । कार्यक्रमकै हिसाबले पनि पालिका, प्रदेश र संघको समन्वयमा हाम्रो क्षमताअनुसार पुगेका छौं । समुदायमा गएका छौं ।
राउटेसम्मलाई ललितकलामा जोडेका छौं । सीमित स्रोत, साधनमै पनि हामी चलायमान हुन खोज्दै छौं । बजेट पनि अन्यभन्दा धेरै कम हो तर गएकै वर्षमा मात्र साना–ठूला गरी ११५ कार्यक्रम गरेका छौं । देशभित्रका संस्कृतिसँगै विभिन्न समुदायका कलाको खोजी र अनुसन्धान कार्य तीव्र बनाएका छौं । देशका कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने कार्यक्रम बनाइरहेका छौं । यी काम होइनन् र ?
२ वर्षमा ललितकला प्रज्ञाप्रतिष्ठानले गरेका मुख्य काम के–के छन् त ?
राष्ट्रिय ललिकला प्रदर्शनीलाई व्यवस्थित गरेका छौं । सहभागिता बढाउन प्रादेशिक प्रदर्शनी सुरु ग¥यौं । सबै विधा समेट्नेगरी ललितकला मेला सुरु गरेका छौं । ‘ललितकला प्रज्ञा’भन्ने जर्नल निकाल्यौं । अनुसन्धानका काम भइरहेका छन् । पोखरामा प्रदेश र संघका प्रतिष्ठानमा बनेका कलाकृतिको भेला ग¥यौं । नक्सालमा पनि तीनै तहलाई समेट्नेगरी भेला भयो । तीनैवटा प्रतिष्ठान मिलेर कमलादीमा पनि भेला भयो । काठमाडौं महानगरभित्रै भित्ते चित्रहरू बनायौं । महानगरभित्रका ७७ वटा स्कुलमा महानगरसँगैको सहकार्यमा कार्यक्रम गरिरहेका छौं ।
‘सामाजिक रूपान्तरण, ललितकलाको अभियान’मार्फत समुदायमा आधारित लोककला, हस्तकला, सीपलगायतलाई स्थान दियौं । ‘मौलिकताको जगेर्ना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान’ भन्नेतर्फ पनि लागेका छौं किनभने उत्पादनसँग नजोडी कला क्षेत्र दिगो नै हुँदैन । पर्यटनसम्बन्धी पनि चित्र कार्यशाला गरेका छौं । माथि पनि भनें कि देशका हरेक समुदायका संस्कृति र कलालाई देशव्यापीसँगै अन्तर्राष्ट्रिय रूपमा समेत परिचित गराउने प्रयासमा छौं ।
नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्न प्रतिष्ठानले के गरिरहेको छ ?
विभिन्न मेलामार्फत सशक्तीकरणका काम गरिरहेका छौं । विभिन्न प्रशिक्षण र तालिम, गोष्ठी गरिरहेका छौं । विभिन्न समुदायका कलालाई अन्तर्राष्ट्रिय प्रदर्शनीमा समेटिरहेका छौं । कला र कलाकारको आदानप्रदान विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रसँग भइरहेकै छ । नेपाली कलाको अन्तर्राष्ट्रियकरण हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौं । राज्यले पनि संस्कृति र कलाका क्षेत्रमा लगानी बढाएर यसको प्रवद्र्धनमा सहयोग गरे नेपाली कलाले अन्तर्राष्ट्रिय परिचय छिट्टै पाउन सक्छ भन्ने लाग्छ ।
प्रतिष्ठानका आगामी योजना के–कस्ता छन् ?
७ वटै प्रदेशमा कला हव खोल्ने तयारीमा छौं । थालनी गरेका कामलाई निरन्तारता दिन्छौं । राष्ट्रिय कला प्रदर्शनी र अन्तर्राष्ट्रिय कार्यक्रमहरू गर्ने योजनामा छौं । नेपालको कला र कलाकारको सर्वेक्षण पनि पूरा भइसकेको छैन, त्यसलाई पूर्णता दिन्छौं । हरेक स्थानीय तहमा संग्रहालय बनाउने सुझाव दिएका छौं र केन्द्रमा हामीले प्रतिष्ठानमार्फत नै संग्रहालय बनाउने निर्णय पनि भएको छ । एसियाको कला क्षेत्रको १ वा २ नम्बरमै पर्नेगरी काम गर्ने योजना पनि बनाएका छौं ।