२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

तेस्रो दमाम च्याम्पियन कप–२०२५ हुने

अन्जान गुभाजु
२०८२ वैशाख १३ गते २१:४२
तेस्रो दमाम च्याम्पियन कप–२०२५ हुने

दमाम (साउदी अरब); मस–साउदी अरबमा कार्यरत नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले ‘तेस्रो दमाम च्याम्पियन कप–२०२५’ आयोजना हुने भएको छ । 

युनाइटेड नेपाल फुटबल क्लब दमामले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता आगामी ६ जुन शुक्रबारका दिन साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सम्पन्न हुनेछ । आयोजक समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

दमामको एक नेपाली होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छ । 

प्रतियोगिताका विजेता तथा अन्य उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गरिने छ । आयोजक क्लबका सचिव कमल ल्हो तामाङका अनुसार प्रतियोगिताका विजेता टोलीले ७,७७७ साउदी रियाल नगद पुरस्कारका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टोलीले पनि ४,४४४ साउदी रियाल नगद, प्रमाणपत्र, ट्रफी र मेडल हात पार्नेछ ।

यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिनेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र प्रत्येक खेलका म्यान अफ द म्याच लगायत विभिन्न व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कार र ट्रफीहरू प्रदान गरिने जानकारी सचिव तामाङले दिए ।

युनाइटेड नेपाल फुटबल क्लबका व्यवस्थापक ओम बहादुर कुमालले प्रतियोगिताको मुख्य लक्ष्य साउदी अरबमा रहेका नेपालीहरूलाई खेलको माध्यमबाट एकताबद्ध गराउनु, भाइचाराको सम्बन्ध स्थापित गर्नु र आपसी सद्भाव बढाउनु रहेको बताए ।

गत वर्ष भएको रमादान इदमा सम्पन्न भएको दोस्रो दमाम भेट्रान गोल्डकप–२०२५ को उपाधि पनि युनाइटेड क्लबले जितेको थियो । यस पटकको प्रतियोगितामार्फत नेपाली फुटबलप्रतिको लगाबलाई थप विस्तार गर्न क्लबले विश्वास लिएको छ । मध्यान्ह राष्ट्रिय दैनिक यस प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको छ ।

ADV

सम्बन्धित खबर