२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

देशभर बाढी, पहिरो र डुबान

ADV
मध्यान्ह
२०८१ असार २३ गते ०६:५५
देशभर बाढी, पहिरो र डुबान

काठमाडौं : शुक्रबारदेखि वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश ठाउँमा शुक्रबार रातिबाट भारी बर्षा भइरहेको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन संचालन केन्द्रका अनुसार शुक्रबार र शनिबारको वर्षाका कारण अर्बौंको क्षति भएको छ । कैयौँ ठाउँमा घर, पूर्वाधार तथा राजमार्गहरूमा क्षति भएको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका ३ मा ट्रिपिकल रेस्टुरेन्टको किचेन कोठामा माथिबाट पहिरो आई पुरिँदा २२ वर्षका मनोज विक घाइते भएका थिए । मनमोहन अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

पहिरोमा परी बिरुवा ६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो । माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् । पर्वतमा पहिरोले दुई जना पुरिएका छन् । फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिरो जाँदा दुई जना बेपत्ता छन् । 

दोलखाको गौरीशंकर गाउँपालिकामा बाढीले बर्ष ६३ की जाङ्मु शेर्पालाई बेपत्ता बनाएको छ । दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव राप्ती नदी पार गर्ने क्रममा नदीले बगाउँदा बेपत्ता भएका छन् । 

गुल्मीको रुरु क्षेत्र गाउँपालिका ३ मा पहिरोले घर पुर्दा ४५ वर्षकी रुपा टमटा घाइते भएकी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । काठमाडौँका बागमती नदी, मनोहरा नदी, भक्तपुरको हनुमन्ते खोला लगायतका किनाराका बस्तीमा बाढी पस्दा जनजीवन अस्तव्यस्त बनेको छ । 

कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन आवागमनमा रोक लगाइएको छ । 

शनिबार साँझ महाकालीमा पानीको बहाव १ लाख २१ हजार क्युसेक पुगेको छ । महाकालीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिकै ठूला सवारी साधन आवागमनमा रोक लगाइने गरिएको छ ।

कर्णाली राजमार्गको कालिकोट र दैलेख खण्डमा पहिरो गएपछि सयौं सवारीसाधन अलपत्र परे । सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवतजावत गर्ने र कालिकोट, जुम्ला र मुगुदेखि सुर्खेत नेपालगन्ज छुटेका सयौं सवारीसाधनहरु अलपत्र परे । कालिकोट खण्डमा मात्रै ५ स्थानमा पहिरो गएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीका ६ जिल्ला रेड अलर्टमा रहेका छन् । जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, हुम्ला र जुम्ला रेड अलर्टमा रहेका हुन् । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

गृह मन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिबारे जानकारी गराएका थिए । उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडा लगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे । 

‘हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन । क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्त्वपूर्ण हुन्छ’, गृहमन्त्री लामिछानेले भने, ‘हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।’ उनले पूर्व तयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise