२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

Nada
२०८२ वैशाख २३ गते ०८:१३
Shares
एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

म्याग्दी : रघुगंगा गाउँपालिका-५ झिँमा रु. एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९/८० मा सुरु भएको दुई तले सभा हलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो ।

ncell

आव २०७९/ ८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो तला ढलान भएको थियो । रु. ७१ लाख ६६ हजार ४१५ मा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभा हल, रङरोगन, विद्युत्, पानी, फर्निचरको काम गरेको थियो ।

चालु आर्थिक वर्षमा विनियोजन भएको रु. २७ लाख बजेटबाट घेराबार गरेर पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । भवन निर्माण गर्न रु ५९ लाख खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो । भाडाको घरमा सञ्चालित वडा कार्यालय नयाँ भवनमा सारिएको छ । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको छ । भाडाका लागि भइरहेको खर्च बचत भएको वडाध्यक्ष शेरपुञ्जाले बताए ।

आठ वटा वडा रहेको गाउँपालिकाले यसअघि पाखा पानीमा वडा नं ६ र भगवतीमा वडा नं २ का लागि भवन निर्माण गरेको थियो । वडा नं ७ को कार्यालय साविक चिम खोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ । वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमंगलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन् ।

मौवाफाँटमा सभा हलसहितको भवन बनाएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए। रु. एक करोड १५ लाख ८६ हजार ४४७ कबोलेमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो ।

ठेक्का प्रक्रियामा १० वटा निर्माण कम्पनी सहभागी भएका थिए । आगामी वर्ष पनि बजेट विनियोजन गरेर भवन निर्माणलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर