काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जीता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई यही वैशाख १७ गते गिरफतार गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् ।
सांसद कान्तिका सेजुवालले तीन महिनादेखि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा अलपत्र परेका मुगुको छायानाथ नगरपालिका–१४ सुम्ली गाउँका २६ वर्षीय दीपराज भण्डारीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनी रोजगारीको सिलसिलामा एक वर्षअघि दुबई गएका थिए ।
यस्तै सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न सरकारसँग माग गरे ।
सांसद पूर्णबाहदुर घर्ती मगरले जिल्ला सदरमुकामका निम्ति विनियोजन गरेको बजेट खर्च हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
यसैगरी सांसद मनिष झाले मन्त्रिपरिषद्मा महिलाको सहभागिता बढाउन माग गरे ।