२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

कर्णाली चिनाउने छोरी

कुलेन्द्र शाही
२०८२ वैशाख २९ गते १८:०३
कर्णाली चिनाउने छोरी

सुर्खेत : कर्णाली प्रदेशको जुम्ला जिल्लामा जन्मेकी रेनु कठायत पेशाले पाइलट हुन् । उनै रेनुले अविकासको विम्बले थिचिएको कर्णालीबाट काठमाडौं विकट देखिने क्षेत्रको प्रतिनिधित्व गर्दै देश तथा विदेशी आकाशका हजारौं फिटको उचाई छिचोलिरहेकी छन् । उनलाई सानैदेखि पाइलट बन्ने इच्छा थियो । तर उनलाई बुबाले डाक्टर पढ्नुपर्छ भन्थे रे ।

शनिबारदेखि वीरेन्द्रनगरमा जारी श्री ज्योति फाउण्डेशनद्वारा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ को अन्तिम दिन सोमबारको ‘कर्णालीको सारथी’ सत्रको वक्ता रहेकी रेनुले भनिन्, ‘म सुरुमै निजी स्कुलमै पढेको हो । पढाइका लागि खासै संघर्ष गर्नु परेन । विदेशमा पढेर आइसकेपछि जागिर नपाउँदा चाहीँ अलि तनाव भएको थियो । त्यो बेला कतिपयले ह्या छोरी पढाएर खतम गर्‍यो भनेर बुबाहरुलाई भन्थे रे । बरु अन्य विषय पढाएको भए जागिर पाइन्थ्यो भनेर भने । तर मलाई खासै केही लागेन । पछि पाइलट बन्ने सपना पुरा भयो । बुबाले डाक्टर पढ भन्नु भएको थियो, तर मेरो चाहना पाइलट बन्ने थियो । यसैमा दृढ भएर संघर्ष गरें । अन्ततः सफल पनि भएकी छु ।’ 

शिक्षा सफलताको ढोका खोल्ने महत्वपूर्ण औजार भएको टिप्पणी गर्दै उनले पढाइभन्दा अहिलेका युवायुवतीहरुमा मोबाइलको गलत लत बस्न पुगको बताइन । ‘बरु किताब पढ्नुहोस्, शिक्षा सबैभन्दा पहिला घरबाट सुरु हुन्छ । त्यहीँबाट राम्रो संस्कार सिक्नुपर्छ । आफुले आफैसँग तुलना गरेर अगाडि बढ्नुपर्छ,’ उनले भनिन् । संघर्षमा जीवन लुकेको यथार्थ बुझेर अघि बढे मात्रै समाजमा सफल बन्न सकिने उनको धारणा थियो । ‘मैले प्लेन चलाएर अहिलेसम्म कर्णालीको भूमिमा आएको छैन । तर जुन भूमिमा टेकेपनि नेपालमै हो भन्ने सोच्छु । यो मेरो मातृभूमिप्रतिको माया हो । यद्यपी कर्णालीका छोरीहरुलाई अझै पनि अगाडि बढ्न त्यति सहज छैन । यसो भन्दैमा समाजसँग लड्न छोड्नु हुँदैन’, रेनुले भनिन् ।

यस्तै, उक्त सत्रमा आफ्ना अनुभूति अभिव्यक्त गर्न आएकी थिइन, मिस नेपाल इन्टर कन्टिनेन्टल सुर्खेतकी सुम्निमा पुरी । उनलाई पनि कर्णालीबाट मिस नेपालको प्लाटफममा पुग्न त्यति सहज थिएन । ‘कर्णालीबाट मिस नेपालसम्म पुग्न धेरै चुनौती थिए,’ उनले भनिन्, ‘यही क्षेत्रमा जान्छु भन्ने त थिएन । काम गर्दै जादा मिस नपालसम्म पुगियो ।’ हाल उनीे मार्केटिङ कम्पनीमा काम गरिरहेको छन् । ‘जीवनमा हरेक सिँढी सफलताको मात्र हुँदैन, सिकाइ, भोगाइ सबैको हुन्छ । मेरो निर्णयमा मेरो परिवारले साथ दिनुभयो । पहिले आफूमाथि विश्वास राख्नुहोस् । अर्को शिक्षालाई महत्व दिनुहोस् । आफुलाई कहिलेपनि अरुसँग तुलना नगर्नुहोस् । सफलता हाम्रै हातमा छ,’ उनले भनिन् । कर्णालीलाई काठमाडौँका मान्छेको हेर्ने दृष्टिकोण फरक रहेको उनको बुझाई छ । तर जे छ, त्यसमा खुला मनले स्वीकार गर्नुपर्ने भन्दै उनले भनिन्, ‘म जहाँ पनि कर्णालीको सुर्खेतबाट आएको हुँ भन्छु । अब समय आएको छ, काठमाण्डौंले कर्णालीलाई बुझ्ने ।’

उल्लेखित यी छोरीहरु भुगोलका कारण अभाव, गरिवि, अशिक्षा, अन्धविश्वास आदि जस्ता गलत भाष्यले थिचिएको कर्णालीबाट उठेका हुन् । फरक भूमिकामा भएपनि उनीहरुले कर्णालीलाई चिनाउने काम गरिरहेका छन् । छोरी सम्मेलनको अन्तिम दिन अर्थात मंगलबारको ‘कर्णालीको सारथी’ सत्रको सहजकर्ता रहेकी पत्रकार विनु सुवेदीसँग उनीहरुले गरेको अन्तरंग भलाकुशारीले लाग्थ्यो अब कर्णाली कुनै मानकले पछाडि छैन । पछाडि छ, त केबल मानिसभित्रको दृढ इच्छा शक्ति । जो कर्णालीको अवस्थाभन्दा माथि उठ्नै चाहदैनन् ।

ADV

सम्बन्धित खबर