
काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको नेतृत्वमा १० साना वामघटक एकताबद्ध भएपछि ती दलभित्रका असन्तुष्ट नेताहरू नयाँ ध्रुवीकरणको पहल गरेका छन् ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ मोर्चाका लागि गृहकार्य सुरु गरेका हुन् । शुक्रबार विप्लव निवासमा बसेर उनीहरूले नयाँ राजनीतिक यात्राका लागि विचार विमर्श गरेका हुन् । लगत्तै, संयुक्त अपिल जारी गर्दै उनीहरूले आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आमजनतालाई गोलबन्द गर्दै अगाढि बढ्नु कार्यभार बनेको बताएका छन् ।
त्यसका लागि प्रतिबद्ध कम्युनिस्टहरू, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चावन्दीको पहलकदमी लिनुपर्ने भनिएको छ । उनीहरूले संवाद, छलफल र सहकार्यको आव्हान पनि गरेका छन् ।
यी तीनै जना नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेतृत्व हस्तान्तरण नगर्ने भएपछि उनीहरूबाट अलग्गिएका हुन् । प्रचण्ड र शर्मा, नेपाल र घनश्यामबीच लामो समयदेखि अन्तरपार्टी संघर्ष चलिरहेको थियो । प्रचण्डले पार्टी एकताको वातावरण बनाउने भन्दै विप्लवलाई लामो समय समाजवादी मोर्चामा अल्झाएर राखेका थिए । तर पार्टी एकतामा उनकै पार्टी विभाजन गराएको आरोप उनको छ ।