काठमाडौं : नेपालको अर्धसैनिक सुरक्षा निकायको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बलमा खाली रहेको १ जना अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रतिस्पर्धामा छन् ।
३० वर्षे सेवा अविधि सकेर गत ३ वैशाखमा एआईजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकासमा गएसँगै एआईजी पदमा १ जनाको दरबन्दी रिक्त छ ।
यसै पटक एआईजी बनेका अधिकृत नै सशस्त्र प्रहरी प्रमुख (आईजीपी) बन्ने बाटो तय गर्नका लागि प्रतिस्पर्धामा तीव्र लडाइँ देखिएको हो । खाली रहेको १ एआईजीका लागि १४ वैशाख आवेदन आह्वान भएको थियो, जसमा ९ जनाले आवेदन दिएको सशस्त्र प्रहरी बल हलचोकले जनाएको छ ।
आवेदन दिनेमा कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ, शम्भु सुवेदी, लक्ष्मणबहादुर सिंह, कालीदास धौबोजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेल रहेका छन् ।
सशस्त्र प्रहरी संगठनमा १६ जना डीआईजी छन् । तीमध्ये ९ जनाले एआईजीको प्रतिस्पर्धाका लागि आवेदन दिएको बताइएको छ, जसमा वरीयताका आधारमा ५ नम्बरमा रहेका कुमार न्यौपानेले भने आवेदन दिएका छैनन् ।
मेरिटका आधारमा बढुवा भए आफ्नो सम्भावना नदेखेका न्यौपाने बढुवा सूचीमा नगएका हुन् । आवेदन दिएकामध्ये पनि कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी गरी ४ जनाबीच कडा प्रतिस्पर्धा हुने सशस्त्र प्रहरी बलका एक अधिकृतले दाबी गरेका छन् । यिनै ४ जनामध्येबाट १ जना एआईजी हुने उनको भनाइ छ ।
सशस्त्रमा नेपाल प्रहरीमा जस्तो नभई वरिष्ठताकै आधारमा बढुवा हुँदै आएको अधिकारीहरू बताउँछन् । सोही प्रक्रियाबाट बढुवा गरिए १ नम्बरमा रहेका कमल गिरी एआईजी बन्ने निश्चित छ । तर, प्रतिस्पर्धामा रहेका डीआईजीहरू राजनीतिक रूपले शक्तिशाली रहेका बताइन्छ । उनीहरूले अहिले शक्ति केन्द्र धाइरहेका छन् ।
आगामी आईजीपीकै लाइनमा पुग्ने भएकाले अहिले बढुवा प्रतिस्पर्धामै पहिलो हुन उम्मेदवारहरूले राजनीतिक शक्ति केन्द्र धाउन थालेको बताइएको छ ।
सशस्त्र प्रहरी ऐन बनेर कार्यान्वयनमा नगएको अवस्थामा सशस्त्रका अहिलेका महानिरीक्षक राजु अर्यालको कार्यकाल १८ वैशाख २०८३ मा सकिँदै छ । उनीपछि वर्तमान एआईजी नारायणदत्त पौडेल आईजीपी बन्ने करिब पक्का छ ।
वरिष्ठताका आधारमा उनी १ नम्बरमा छन् । एआईजी पौडेलले सशस्त्र प्रहरी बल नेपालको कार्य विभागको कमान्ड सम्हालिरहेका छन् ।
यद्यपि, वरीयतामा तल रहेका एआईजी बंशिराज दाहालले पौडेललाई उछिनेर आईजी हुन अस्वाभाविक चलखेल गर्दै आएका भन्दै संगठनभित्रै उनको टिप्पणी हुन थालेको छ । तर, उनी विवादित व्यक्ति हुन् ।
२१ भदौ २०७९ मा मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीमा १ एआईजी दरबन्दी थप गरेर उनलाई तानेको थियो । अर्यालपछि बन्ने आईजीपीको कार्यकाल सकिएपछि अहिले एआईजीमा बढुवा हुनेहरूमध्येबाटै आईजीपी बन्ने छन् । सशस्त्र प्रहरी बलमा ३ जना एआईजी र १६ जना डीआईजीको दरबन्दी छ ।
प्रारम्भमा अल्पकालीन राजनीतिक लक्ष्य हासिल गर्न, विशेषगरी तत्कालीन माओवादी विद्रोहीविरुद्ध लड्न अन्य सुरक्षा अंगलाई सघाउ पुर्याउने उद्देश्यले स्थापना गरिएको भए पनि यसको भूमिका विस्तार हुँदै गएको छ । सुरुमा नेपाली सेनाबाट १२० र नेपाल प्रहरीबाट करिब १० हजार जनाको सरुवा गरी २०५७ सालमा स्थापना गरिएको सशस्त्र प्रहरी बलका पहिलो महानिरीक्षक कृष्णमोहन श्रेष्ठ हुन् ।
१० हजार जनाबाट सुरु भएको यो संगठनमा अहिले सबै तहका गरी ३७ हजारभन्दा बढी दरबन्दी छ । सशस्त्र प्रहरी बल ऐनको दफा ६ अनुसार सशस्त्र प्रहरी बललाई नेपाल सरकारले कानुन तथा सुव्यवस्था, शान्ति तथा सुरक्षा कायम गर्न, विद्रोह, पृथक्तावादी गतिविधि, आतंकवाद तथा सशस्त्र विद्रोहको सामना गर्न, भीड तथा दंगा नियन्त्रण गर्न, प्राकृतिक प्रकोप व्यवस्थापनमा सहयोग पुर्याउन र सीमा सुरक्षालगायतका कार्यमा परिचालन गर्दै आएको छ ।
३७ हजार फोर्सको नेतृत्व गर्ने तयारीस्वरूप अहिलेका डीआईजीहरू एआईजीमा बढुवा हुन जोडतोडका साथ लागेका हुन् ।