२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

कतारमा जागिर छाडेपछि अन्तिम तलब र सेवा सुविधा कहिलेसम्म पाउनुपर्छ ?

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक १६ गते १३:३६
Shares
कतारमा जागिर छाडेपछि अन्तिम तलब र सेवा सुविधा कहिलेसम्म पाउनुपर्छ ?

दोहा, कतार : कतारको श्रम कानुन अनुसार रोजगारदाताले कर्मचारीको श्रम सम्झौता समाप्त भएपछि पाउन बाँकी तलब तथा अन्य सम्पूर्ण सेवा सुविधा अर्को कार्य दिन समाप्त हुनुअघि भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कतारको सन् २००४ को श्रम कानुन नम्बर १४ को धारा ६७ ले यस्तो व्यवस्था गरेको हो। रोजगार सम्झौता जुनसुकै कारणले समाप्त भए पनि रोजगारदाताले कर्मचारीलाई दिनुपर्ने बाँकी रकम तोकिएको समयभित्र भुक्तानी गर्नुपर्छ ।

तर, कानुनअनुसार आवश्यक पूर्व सूचना नदिई काम छाडेको अवस्थामा भने फरक व्यवस्था लागू हुन्छ । यस्तो अवस्थामा कर्मचारीले काम छाडेको मितिले सात दिनभित्र रोजगारदाताले बाँकी तलब तथा अन्य सेवा सुविधा भुक्तानी गर्नुपर्ने हुन्छ ।

कति समयअघि सूचना दिनुपर्छ ?

कतारको श्रम कानुनको धारा ४९ अनुसार परीक्षण काल (प्रोबेसन) समाप्त भएपछि रोजगारदाता वा कर्मचारी दुवैले लिखित सूचना दिएर श्रम सम्झौता अन्त्य गर्न सक्छन् । यसका लागि पहिलो र दोस्रो वर्षमा कम्तीमा एक महिनाअघि लिखित सूचना दिनुपर्छ। दुई वर्षभन्दा बढी सेवा अवधि पूरा गरेको अवस्थामा भने दुई महिनाअघि सूचना दिनुपर्ने व्यवस्था छ ।

यो व्यवस्था रोजगारदाता र कर्मचारी दुवैमा समान रूपमा लागू हुन्छ । परीक्षण काल सम्बन्धी व्यवस्था भने छुट्टै छ । तोकिएको सूचना अवधि पूरा नगरी सम्झौता अन्त्य गर्ने पक्षले सूचना अवधिको बाँकी समय बराबर कर्मचारीको आधारभूत तलबका हिसाबले क्षतिपूर्ति दिनुपर्ने हुन्छ । यस्तो क्षतिपूर्ति रोजगारदाताले कर्मचारीलाई दिनुपर्ने बाँकी सेवा सुविधा भुक्तानी गर्ने दायित्वभन्दा अलग हुन्छ ।

भुक्तानीमा ढिलाइ गरे के हुन्छ ?

श्रम कानुनको धारा १४५ अनुसार धारा ६७ को व्यवस्था उल्लङ्घन गर्ने रोजगारदातालाई एक महिनासम्म कैद वा दुई हजारदेखि छ हजार कतारी रियालसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ । यस्तो सजाय अदालतबाट हुने कानुनी कारबाहीअन्तर्गत पर्छ। प्रत्येक ढिलो भुक्तानीमा स्वतः जरिवाना लाग्ने भने होइन ।

कतारमा श्रम सम्झौता समाप्त भएपछि सामान्य अवस्थामा अर्को कार्य दिनभित्र बाँकी तलब तथा सेवा सुविधा पाउनुपर्ने कानुनी अधिकार छ । तर, आवश्यक पूर्व सूचना नदिई काम छाडेको अवस्थामा सात दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था लागू हुन्छ । यसर्थ, राजीनामा दिँदा वा रोजगारी अन्त्य गर्दा सूचना अवधिको कानुनी व्यवस्था बुझ्नु र आफ्नो बाँकी तलब तथा सेवा सुविधाको हिसाब सुरक्षित राख्नु श्रमिकका लागि महत्त्वपूर्ण हुन्छ ।

सम्बन्धित खबर