२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण

Nada
२०८२ वैशाख ३० गते १२:१८
Shares
बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण

काठमाडौं : वर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

ncell

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले गत वर्ष असोजमा आएको बाढीपहिरोले क्षति पुर्‍याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गरे ।

सांसद सूर्यमान दोङले गत वर्ष असोजको बाढीपहिरोबाट भएको क्षति यकिन गर्ने, राहत तथा पुनर्स्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र मर्मतमम्भारको काममा ढिलाइ भइरहेको बताए । त्यस्तै, बिपी राजमार्गमा अहिलेसम्म सहज रुपमा सवारीसाधन सञ्चालन हुन नसकेको विषय पनि उनले उठाए ।

सांसद लेखनाथ दाहालले गत वर्षको बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग अहिले पनि १४ स्थानमा अवरुद्ध रहेको बताए । त्यस्तै, यसै हप्ता बनेपा र पनौती क्षेत्रमा अत्यधिक वर्षा हुँदा रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याए पनि राहत तथा उद्धारमा सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेथिति बढेकामा सरकारको ध्यानाकर्षण गराए । विमानस्थल अस्तव्यस्त बनेको, ठाउँ साँघुरो भएकाले यात्रु तथा सामानको असुरक्षा बढेको उनको भनाइ थियो ।

सांसद चन्द्रबहादुर विश्वकर्माले सडक दुर्घटना बढेको विषय संसद्मा उठाए । त्यस्तै जाजरकोट जिल्ला कारागारमा कैदीले आत्महत्या गरेको घटनाको छानबिन गर्न उनले माग गरे ।

ताजा खबर

सम्बन्धित खबर