बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाले विद्यालय बाहिर रहेका बालवालिकाहरुको तथ्यांक संकलन गर्ने भएको छ ।
प्लान इन्टर नेसनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र र बि ग्रुपको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाको सहयोगमा पालिकाले जेठ २ गतेदेखि १० गतेसम्म तथ्यांक संकलन गर्ने भएको हो ।
५ वर्षदेखि १७ वर्ष उमेर समुहका विद्यालय बाहिर रहेका वालवालिकाको तथ्यांक एकिन गरी विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका सबै बालवालिकाहरुलाई विद्यालयमा ल्याउने र विद्यार्थीहरुलाई विद्यालयमा टिकाइ राख्न एवम् नियमित गराउन योजना निर्माण गरी भिभिन्न क्रियाकलाप संचालन गर्दै पालिकालाई विद्यालय बाहिर मुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यका साथ तथ्यांक संकलन गर्न थालिएको हो ।
सामुदायिक विद्यालयका २६ जना प्रा.वि. शिक्षक र बाल विकास सहजकर्ताहरुलाई एकदिने अभिमुखीकरण गराइ तथ्यांक संकलकको रूपमा तयार गरिएको छ । उनीहरुले ‘कोबो कलेक्ट’ नामक मोबाइल एप्लिकेशन प्रयोग गरी तथ्यांक संकलन गर्नेछन् ।