२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

स्वर्णलक्ष्मी सहकारी ठगी : १ वर्षपछि सांसद राईविरुद्ध मुद्दा दायर

छबि सापकोटा
२०८२ जेठ १ गते ०६:१५
स्वर्णलक्ष्मी सहकारी ठगी : १ वर्षपछि सांसद राईविरुद्ध मुद्दा दायर

काठमाडौं : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईविरुद्ध १ वर्षपछि मुद्दा दायर भएको छ । स्वर्णलक्ष्मी सहकारी प्रकरणमा राजनीतिक प्रभावका कारण राईसहित केही व्यक्ति छुटेका भए पनि पूरक अभियोजन दर्ता गरिएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मंगलबार पूरक अभियोजनमार्फत अर्को मुद्दा दायर भएको छ । 

राईविरुद्धको पूरक अभियोजनमा २० जना पीडितले जाहेरी दिएका थिए । पूरक अभियोजनमार्फत काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो ।

सहकारी प्रकरणमा प्रहरीले सांसद राईलाई पक्राउ नगरेको भन्दै चर्काे विरोध भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १३ वैशाखमा बूढानीलकण्ठबाट राईलाई पक्राउ गरेको थियो ।

यसअघि २१ पुसमा स्वर्णलक्ष्मी ठगी प्रकरणमा ३९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । राई ६ कात्तिक २०७३ देखि ४ मंसिर २०७४ सम्म स्वर्णलक्ष्मी सहकारी संस्थामा सदस्य थिइन् ।

त्यसपछि ८ मंसिर २०७४ देखि २१ भदौ २०७६ सम्म राई सहसचिव हुँदा सर्वसाधारणको २ करोड ४० लाखभन्दा बढी रकम अपचलन भएको सरकारी वकिलको प्रतिवेदनले देखाएको छ ।

संगठित अपराधअन्तर्गत ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भए पनि राईको हकमा भने १७ दिनमै मुद्दा अदालतमा पेस गरिएको छ । 

यसअघि स्वर्णलक्ष्मी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरिएको भन्दै मुद्दा दायर गरिएको थियो । त्यति बेला भने सांसद राईसहितका यामकुमार नाल्चो, सुरज श्रेष्ठ, पुनमकुमारी चालिसे र मीरा बम्जनलाई उन्मुक्ति दिइएको थियो ।

मंलगबार राईलाई मुद्दा दायर गरिएको भए पनि यामकुमार नाल्चो, सुरज श्रेष्ठ, पुनमकुमारी चालिसे, मीरा बम्जन र प्रचण्डमान प्रधानमाथि मुद्दा दर्ता भएको छैन ।

अभियोजनपत्रमा उनीहरूको यकिन बतन खुल्न नसकेको उल्लेख गरिएको छ । ‘उनीहरूको हकमा यकिन वतन खुल्न नआएको हुँदा खुली आएका बखत र प्रस्तुत वारदातमा अन्य कोही कसैको संलग्नता खुली आएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम गरिने बेहोरा अनुरोध छ’, अभियोगपत्रमा उल्लेख छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई र पूर्व प्रहरी नायब महानिरीक्षक छबिलाल जोशीलगायतमाथि ठगी प्रकरणमा मुद्दा छ ।

गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार लगेको देखिएको थियो ।

ADV

सम्बन्धित खबर