२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

मालिक नभेटिने सुन तस्करी

जीवन शर्मा
२०८२ जेठ ६ गते ०६:३५
मालिक नभेटिने सुन तस्करी

काठमाडौं : नेपालमा भएका अधिकांश सुन तस्करीसम्बन्धी प्रकरणमा भरिया भेटिने र मालिक लुक्ने परम्पराले निरन्तरता पाउँदै आएको छ । आइतबार प्रहरीले बरामद गरेको ७ किलो ६५३ ग्राम सुन र सुन बोक्ने भरिया पक्राउ पर्दा सुन तस्करीका वास्तविक मालिक नभेटिनुु त्यसैको निरन्तरता हो ।  

तस्करहरूले दुबई, थाइल्यान्ड, मलेसिया, कतार, हङकङ, चीनलगायतका मुलुकबाट नेपाललाई ट्रान्जित बनाएर भारतमा सुन तस्करी गर्दै आएका छन् । पछिल्ला केही वर्षयता क्वीन्टलका क्वीन्टल सुन भेट्टाए पनि मुख्य मालिक भेटिने गरेका छैनन् ।

आइतबार चीनको केरुङबाट स्याउको कन्टेनरमा रसुवागढी नाका हुँदै काठमाडौं भित्र्याउन लागेको अवैध सुन रसुवा भन्सारमै पक्राउ गरेको थियो । कन्टेनर चालकले आफू बस्ने सिट नजिकै ‘फल्स बटम’ बनाएर ल्याएको उक्त सुनका ७ वटा बिस्कुट आकारका र केही साना टुक्रासहित चालक किशोर भुजेललाई पक्राउ गरी सोमबार सुनसहित भन्सारमा बुझाएको प्रहरीले जनाएको छ ।

भुजेलले प्रारम्भिक बयानमा आफूलाई कन्टेनरमा सुन राखिएको र कसको हो भन्ने थाहा नभएको बयान दिएका छन् । तर, चालकलाई थाहै नभई ‘फल्स बटम’ बनाएर सुन ल्याउने सम्भावना नभएको प्रहरी अधिकारीहरू बताउँछन् । 

यसरी अवैध रूपमा सुनको चोरी पैठारी गर्ने तस्कर र लगानीकर्ताले चालक वा भरियालाई पहिचान नखुलाउन पहिल्यै ग्यारेन्टी गर्ने गरेका समेत पाइएको नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् । चालक वा भरिया जेल गएको खण्डमा उनीहरूको सबै कानुनी प्रक्रिया र परिवारका लागि आवश्यक खर्चसमेत ग्यारेन्टी गर्ने गरेकाले पक्राउ परेका भरियाले हमेसा मूल मालिकको पहिचान नदिने गरेको एक अधिकारीले बताए ।

त्यसैले, सुनको मालिक पत्ता नलाग्ने तर भरियाले जेल बस्नुपर्ने समस्या रहेको उनको भनाइ छ । पहिला–पहिला तातोपानी नाकाबाट तिब्बततर्फ आउजाउ गर्ने बाटो बन्द भएसँगै रसुवा नाकालाई तस्करहरूले सुुन तथा सुनजन्य धातुु चोरी पैठारीको हब बनाउँदै आएका छन् । 

गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । संसद् बैठकको शून्य समयमा बोल्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पटक–पटक समातिएको सुनमा चालक मात्र समातिएको, त्यसका साहु को हो ? भन्ने अहिलेसम्म सार्वजनिक नभएकाले सदनलाई जानकारी गराउन माग गरेका छन् । 

‘अवैध रूपमा ओसारपसार भइरहेको सुन पटक–पटक समातिने तर उक्त प्रकरणमा चालक पक्राउ परे पनि मालिक पक्राउ नपर्ने परम्पराले निरन्तरता पाएको छ’, उनले भने, ‘के कारणले यस्तो हुन्छ, सदनलाई जानकारी गराउन अनुरोध गर्दछु ।’

प्रहरीले विशेष सुराकीका आधारमा बा४ख ६२०१ नम्बरको कन्टेनरलाई मितेरी पुल पार गरेलगत्तै नियन्त्रणमा लिएको थियो । नाकामा सशस्त्र र नेपाल प्रहरी तथा भन्सार कर्मचारीले कन्टेनरको जाँचमा कडाइ गर्दै आएका छन् ।

केरुङ हुँदै रसुवागढी नाकाबाट अन्य सामानको कन्टेनरमा यसरी सुन ल्याएको यो पहिलो घटना भने होइन, पटक–पटक पक्राउ परेका अवैध सुन तथा पैसा बोकेका अधिकांश भरियाले कन्टेनरमा भएका त्यस्ता अवैध सामानका विषयमा जानकारी नभएको बयान दिँदै आएका छन् । 

गत ५ चैतमा काठमाडौंको टोखाबाट चीनतर्फ लैजाँदा बरामद २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरको डलर र युरो ल्याउने भरियाले पनि प्रारम्भिक बयानमा उक्त रकमको मालिक को हो र कसरी यस्तो भयो भन्ने थाहा नभएको बताएका थिए ।

उक्त रकम सुन खरिदका लागि नै पठाइएको अनुसन्धान अधिकृतहरूले बताएका थिए । सो रकमका मालिक ७ किलो अवैध सुन तस्करीको आरोपमा २०७८ पुसमा नख्खु कारागारबाट कैदमुक्त भएका कुसाङ लामा भने पक्राउ परेर थुनामा छन् । यद्यपि, अधिकांश सुन तस्करीका मुख्य मालिकहरूलाई प्रहरीले फेला पार्न नसकेको इतिहास छ ।   

२०७२ सालको भूकम्पअघि चीनबाट सुन तस्करीको मुख्य नाका तातोपानी बन्द भएपछि त्यसको विकल्पमा १ मंसिर २०७२ मा रसुवागढी खुलेको थियो । त्यसयता तस्करीको रुट पनि सोही नाकातर्फ ‘डाइभर्ट’ भएको हो । यो नाकाबाट अहिलेसम्म सयौं किलो सुन भित्रिसकेको छ ।  

सुन तस्करीको इतिहास 

तत्कालीन राजा महेन्द्रले मनाङका बासिन्दालाई व्यापारिक काममा अगाडि बढाएपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उनीहरूलाई तेस्रो मुलुकबाट सुन नेपाल ल्याई भारत पुर्‍याउने काममा संलग्न गराएका थिए । त्यसयता सुरु भएको सुन तस्करीले पछिल्लो समय व्यापकता पाएको छ । 

२३ फागुन २०४२ मा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा ३ किलो सुनसहित समातिएका थिए । २०४४ सालमा तत्कालीन अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाहका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डीबी लामा सुन तस्करीको अभियोगमा समातिएका थिए । 

२०४६ सालको राजनीतिक परिवर्तनपछि तस्करीको लाइनको प्रचलन पनि सुरु भयो । खासगरी २०५१ सालको मध्यावधि निर्वाचनमा कुनै दलले बहुमत ल्याउन नसकेपछि चरम राजनीतिक अस्थिरता सुरु भयो । यससँगै सुन तस्करीको ग्राफसमेत बढ्दै गएको इतिहास छ । त्यतिबेलाको मुख्य नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीले व्यापकता पाएको थियो ।   

नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री खुमबहादुर खड्काका पालामा सुरु भएको सुन तस्करी बिस्तारै खुल्लम खुल्ला रूपमा अघि बढेको जानकारहरू बताउँछन् ।

खड्कापछि लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारका गृहमन्त्री बनेका एमाले नेता वामदेव गौतमले फरक लाइनबाट तस्करीको ‘सेटिङ’ मिलाएका थिए । त्यही समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउने सुन नै सरकार भत्काउने र नयाँ सरकार गठन गर्ने मुख्य आर्थिक स्रोत बनेको सुरक्षा निकायका तत्कालीन अधिकारीहरूको दाबी छ ।

चन्द सरकार पनि ढलेपछि सूर्यबहादुर थापा प्रधानमन्त्री बने । उक्त सरकार गठन गर्ने आर्थिक स्रोत नै सुन तस्करीमा संलग्न गिरोहले जुटाएको आरोप लागेको थियो ।  

२३ वैशाख २०५५ मा सांसद परी थापाको संयोजकत्वमा राजस्व चुहावट नियन्त्रण संयुक्त संसदीय समिति गठन भयो । २८ पुस २०५५ मा उक्त समितिले प्रतिवेदन बुझायो । 

प्रतिवेदनमा अनिल जटिया, प्रकाश बेगानी, शंकर गोल्यान, आईएल प्रधान, टेकबहादुर गुरुङ, जमिम शाह, ताहिर शाह, दीपक मलहोत्रा, प्रकाश टिवडेवाला, विष्णु जोशी, धोजेन्द्र गौचन, विष्णु गौचन, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाने र दीपक स्वाँरको नाम किटानीसाथ उल्लेख छ । तर, ती कुनैमाथि कानुनी कारबाही भएन ।

२९ मंसिर २०५४ मा १ क्वीन्टल (सय किलो) सुन बरामद भएको पहिलो घटना थियो । सुनसहित कोरियाली नागरिकद्वय जो कुन ह्वा र युन सोङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका थिए ।

पञ्चायतकालमा नेपालमा सुन ओसार्ने नाका हङकङ मात्र थियो । २०५० सालपछि दुबई, थाइल्यान्ड, मलेसिया, कतार र चीन पनि तस्करीको रुटमा जोडिएका हुन् । पछिल्लो समय इलेक्ट्रोनिक चुरोट (भेप) र अन्य सामानका कन्टेनरदेखि मानव शरीरका विभिन्न भागमा समेत लुकाएर सुन तस्करी हुने गरेको छ ।

ADV

सम्बन्धित खबर