२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

अर्थ मन्त्रालय बजेट बनाउन व्यस्त

मध्यान्ह
२०८२ जेठ ८ गते २०:२१
अर्थ मन्त्रालय बजेट बनाउन व्यस्त

काठमाडौं : अर्थ मन्त्रालय बजेटको अन्तिम तयारीमा व्यस्त रहेको छ । जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को  बजेट ल्याउनु पर्ने भएकोले विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारी भइरहेको जनाएको छ । मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सिमा र प्राप्त सुझावहरुलाई ध्यान दिएर बजेट निर्माणको काम भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टिम बजेट निर्माणमा केन्द्रित छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणबारे मन्त्रालयहरु, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको थियो ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग परामर्श गरिसकेको छ । 

अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरुसँग समेत परामर्श गरेको थियो । त्यसैगरी पूर्व अर्थ सचिवहरु, अर्थ विद्हरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका विषयतगत संघसंस्थाहरुसँग छलफल गरेको थियो । विकास साझेदारहरुसँग पनि छलफल भएको थियो । 

बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नागरिकहरुले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेट सम्बन्धी सुझाव दिनका लागि सार्वजनिक रुपमा आह्वान गरेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथिमकताबारे संसदमा छलफल भइसकेको छ ।

बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको छ । जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण पेश हुनेछ ।

ADV

सम्बन्धित खबर