अर्घाखाँची : डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहनप्रसाद श्रेष्ठले जडिबुटीको खेती गरेर किसानलाई सम्पन्न बनाउने र रोजगारी सिर्जना गर्ने कार्यमा किसानहरु नै सक्रिय हुनुपर्ने बताएका छन् ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले वन उपभोक्ता समितिका सदस्य तथा किसानहरुका लागि जडिबुटी खेती विस्तारमा सहजीकरण सम्बन्धी तालिमको उद्घाटन गर्दै श्रेष्ठले अब आर्थिक उपार्जनका र जंगली जनावरबाट जोगाउन पनि किसानले जडिबुटी खेतीलाई मुख्यखेतीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
धान, गहुँ, मकै, कोदो, फापर उत्पादन गरेर खाली रहेको जग्गामा जडिबुटी उत्पादन गरेर राम्रो आम्दानी गर्न सकिने भएकोले वन क्षेत्रमा खाली रहेको जग्गामा जडिबुटी उत्पादन गरिने कार्यलाई कार्यालयले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयले ल्याएको जडिबुटी उत्पादन कार्यक्रमले अर्घाखाँचीका किसानलाई सम्पन्न बनाउने र वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उपयुक्त माध्यम भएकाले यस कार्यक्रमलाई प्रदेश सरकारले समेत प्राथमिकतामा राखेर नर्सरी व्यवस्थापन र उत्पादनको लागि बिउ र सिँचाईंमा सहयोग गर्नुपर्ने श्रेष्ठले दावी गरे ।
उनले जडिबुटी उत्पादन गरेर स्थानीय किसानलाई सम्पन्न बनाउन र रोजगारी सिर्जना गर्न स्थानीय सरकारहरु लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा अर्घाखाँचीका पाँचवटा स्थानीयतहका कृषकहरूको सहभागिता रहेको थियो । सन्धिखर्क नगरपालिका,पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र भूमिकास्थान नगरपालिका गरी करिब ६० जना कृषकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अर्घाखाँची डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठ, वरिष्ठ वन अधिकृत उमेश शाह, गणेश चौधरी सहायक वन अधिकृत केशर खड्काले सहजीकरण गरेका थिए ।