२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

काठमाडौंमा २१६ सडकको नयाँ नाम राखिने

मध्यान्ह
२०८२ जेठ १२ गते १९:१५
काठमाडौंमा २१६ सडकको नयाँ नाम राखिने

काठमाडौं :  काठमाडौं महानगरपालिकाले २१६ वटा सडकको नयाँ नाम राख्ने भएको छ । महानगरभित्र रहेका सडक पुराना नामलाई संशोधन गरी नयाँ नामाकरण गर्न लागेको हो । महानगरको सूचना तथा प्रविधि महाशाखाका प्रमुख अशोक श्रेष्ठका अनुसार अहिलेसम्म ३२ वडामध्ये १८ वडाबाट २१६ वटा सडकको नयाँ नामाकरण गरिएको छ ।

‘१८ वडाबाट मात्र वडा समितिबाट नाम अनुमोदन भएको छ,’ उनले भने, ‘अब यसपछि एक मुष्ठ रूपमा सबै वडाको महानगरको भवन व्यवस्था समितिबाट पारित हुन बाँकी छ । कार्यपालिकाले अन्तिम पारित गरेपछि हामी नामहरू सार्वजनिक गर्छौ ।’

वडा नं. १, २, ८, ९, ११, १२, १४, १६, १८, १९, २०, २१, २४, २५, २७, २८, २९ र ३० बाट वडा समितिले सडकको नयाँ नाम अनुमोदन गरी पठाइसकेका छन् । वडा नम्बर ६, २२, २३, २६ र ३२ मा भने छलफल चलिरहेको छ ।

अन्य वडामा नक्सामाथि छलफल चलिरहेको महानगरले जनाएको छ । महानगरले १ हजार ३७ वटा पुराना नामलाई प्रमाणित गर्दै नाम नभएका सडकको नयाँ नाम अनुमोदन गरेको हो ।

सबै वडाले सडकका नयाँ र संशोधित नाम स्वीकृत गरेपछि काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट नामाकरण भइसकेका सडकलाई एकीकृत गर्ने, सडकको मौलिक र बैज्ञानिक नामाकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन तथा नक्साङ्कन गरिनेछ । यही लक्ष्य अनुसार महानगरले काम गरिरहेको हो ।

यसरी पथ, सडक, मार्ग र गल्लीको नक्साङ्कन तथा नामाकरणबाट इन्भेन्ट्री (सूची) तयार गर्ने, सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसाग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन द्रुत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क प्राप्त हुने महानगरले जानकारी दिएको छ ।

नक्सामा महानगरपालिकाभित्र १ हजार ४९ किलोमिटर सडक देखिएको महानगर सूचना प्रविधि महाशाखा प्रमुख श्रेष्ठले बताए । यसभित्र पथ, सडक, मार्ग र गल्ली ४ हजार ९७७ वटा छन् । उनका अनुसार यीमध्ये २ हजार ४१६ वटाको नाम दिइएको छ भने २ हजार ५६१ वटाको नाम दिइएको छैन ।

ADV

सम्बन्धित खबर