काठमाडौं : भारतमा कोभिड–१९ (कोरोना) भाइरस संक्रमण बढिरहेको खबर आइरहेका बेला नेपालमा पनि संक्रमति भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार १५ राज्यमा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
नयाँ भेरियन्टमा देखा परेको कोभिड भाइरसबाट संक्रमित व्यक्तिहरू नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र पश्चिम बंगाल राज्यका छन् ।
मंगलबारसम्म भारतमा १ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । संक्रमित मध्ये ७ जनाको मृत्यु पनि भएको छ ।
भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ र यसका उप–भेरियन्टहरू एलएफ ७ र एनबी १.८ हाल विश्वका विभिन्न देशहरूमा पनि फैलिएको पाइएको छ ।
एसीयाली देशहरू सिंगापुर, हङकङ, चीन, थाइल्यान्ड र भारत जस्ता देशहरूमा नयाँ केसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ ।
नेपालमा ७ जनामा संक्रमण
यसरी यसरी अन्य देश र भारतमासमेत कोरोना संक्रमण बढ्दा नेपालमा ७ जना संक्रमित भएका छन् । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १ जना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक चन्द्रबल झाका अनुसार कोरोना संक्रमण देखिएका सबैको विदेश भ्रमणको हिस्ट्री छैन । तर संक्रमित सबै डिस्चार्ज भएर घर गइसकेका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार अहिले विभिन्न देशमा संक्रमति बढ्दा पनि नेपालमा डराउनुपर्ने स्थिति भने छैन ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अहिले फैलिएको भेरियन्ट कति संक्रामक र कति घातक छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । ‘भारतको तथ्याकं हेर्दा धेरै संक्रामक र घातक भएको देखिँदैन, त्यसैले डराइहाल्नु पर्ने अवस्था छैन;’ उनले भने ।
कोरोनाको खोप नलगाएका व्यक्ति, बालबालिका र दीर्घ रोगीहरूमा सङ्क्रमण देखिने सम्भावना बढी हुने भएकाले सचेत हुनुपर्ने उनको भनाइ छ । विगतमा कोभिड उतारचढाव भोगिसकेकाले पनि यसबारे चासो चिन्ता धेरै हुनु स्वभाविक रहेको पुन बताउँछन् ।
भारत लगायत देशहरूमा देखिएको नयाँ भेरियन्ट सामान्य रहेको रिपोर्ट विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई पठाइएको छ । नेपालमा भेरियण्ट जाँच गर्न कम्तिमा ३०–४० वटा केश आए मात्र डब्लूएचओलाई पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । अहिलेको भेरियन्ट कडा नभए पनि दीर्घरोगी तथा बालबालिका र वृद्धवृद्धाहरु जोखिममा हुने भएकाले आवश्यक सर्ताकता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।
नाकामा सतर्कता
छिमेकी भारतमा कोरोनाको संक्रमण फैलिएकोले सीमासँग जोडिएका १७ वटा नाकामा रहेका स्वास्थ्यकर्मीहरूलाई सचेत रहन मन्त्रालयले निर्देशन दिएको छ । प्रवक्ता बुढाथोकीले सीमा नाकामा स्वास्थ्य जाँचका लागि परीक्षण किट पनि पठाइएको बताए ।
यस्तै खुला नाका र हवाई नाकाको डेस्कमा रहेका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ । प्रवक्ता बुढाथोकीले भारतमा कोरोना मात्रै नभइ कुनै पनि संक्रामक रोग फैलिसकेपछि नेपालमा ढिलोमा २ हप्तामा संक्रमण आइसक्ने आकलन रहेको बताए ।
बुढाथोकीका अनुसार बाँकी थप नाका र अस्पतालहरूमा बिरामी आएको खण्डमा कसरी व्यवस्थापन गर्ने भनेर निर्देशन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पनि नमुना लिएर जिन सिक्वन्सिङ गर्न आग्रह गरिएको छ । साथै टेकु अस्पताललाई पनि तयारी रहन निर्देशन दिइएको प्रवक्ता बुढाथोकीले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपालमा कोरोनाको नयाँ भेरियन्टको परीक्षण भएको छैन । नियमित कोरोना परीक्षण भइरहेको र परीक्षणमा कोरोना सङ्क्रमितहरू बढेको नदेखिएको पनि प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालमा अन्य देशमा संक्रमण बढेको थाहा पाएपछि शंकास्पद लक्षण देखिँदा परीक्षण गर्न आउने व्यक्तिहरूको संख्या भने बढेको छ ।
सतर्कता जरुरी
कोभिड–१९ का प्रजातिले आफ्नो स्वरूप बदलिरहने हुँदा सधैँ ढुक्क हुन नसकिने चिकित्सकहरू बताउँछन् । त्यसैले सतर्कता अपनाएर स्वास्थ्य मापदण्ड पालना गर्नु जरुरी रहेको उनीहरू बताउँछन् । साबुन पानीले पटक–पटक हात धुने, धेरै भीडभाडमा नजाने, मास्क लगाउने जस्ता कार्य गर्न उनीहरूको सुझाव छ । साथै खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भए परीक्षण गर्न पनि चिकित्सकहरूको सल्लाह छ ।