काठमाडौं : भिजिट भिषा घुस प्रकरणमा आफ्नो संलग्नता नरहेको गृहमन्त्री रमेश लेखकले प्रष्टोक्ति दिएका छन् । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा र भिजिट भिषा प्रकरणमा छानबीनको माग राखेर संसद् बैठक अवरोध गर्दै आएका छन् ।
संसद् अवरोधका कारण गृहमन्त्री लेखकले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राखेका थिए । उनले आफूमाथि गलत आरोप लगाएर अन्यायमा पारिएको बताए ।
अध्यागमन कार्यालयका कर्मचारीमाथि भइरहेको अनुसन्धानमा आफूलाई जोड्नु अन्याय भएको गृहमन्त्री लेखकको भनाइ थियो ।
गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक रूपमा षड्यन्त्र भएको भन्दै भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिनमा परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका निर्देशक तीर्थ भट्टराईलाई गृह मन्त्रालयमा आफूले नल्याएको र विगत ५ वर्षदेखि उनी गृह अन्तर्गत नै रहेको दाबी गरे ।
आफूमाथि अन्याय भएको भन्दै लेखकले पत्रकार सम्मेलनमार्फत न्यायसमेत मागेका छन् । ‘न्याय त मैले पनि पाउनुपर्ने होला नि ! कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविरुद्ध कुनै उजुरी छ ? मेराविरुद्ध कहीँ नेर छानबिन भइरहेको छ ? तर मैले न्याय त माग्न पाउन पर्ला नि !,’ उनले भने ।
विभिन्न समयमा सञ्चार माध्यमहरूमा समाचार आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटसमेत अभियोजन भएको अवस्थामासमेत तत्कालीन नेतृत्वबाट पद त्याग नगरेको अवस्थामा आफूलाई नियोजित ढंगले सामाजिक सञ्जालमार्फत् लगाइएको आरोपमा राजीनामा दिनुपर्ने कारण नरहेको लेखकले बताए ।
बादलदेखि रवीसम्मका प्रिय भट्टराई
भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिनमा परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका निर्देशक तीर्थ भट्टराईलाई २०७७ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको पालामा गृह मन्त्रालयबाट गोरखा र त्यसपछि महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको थियो ।
त्सपछि उनलाई २०७८ सालमा बालकृष्ण खाँण गृहमन्त्री भएका बेला गृह मन्त्रालय अन्तर्गत पन्जिकरण विभागको महानिर्देशक बनाइएको र सोही वर्ष मोरङको प्रमुख जिल्ला अधिकारी बनाइएको थियो ।
२०७९ सालमा प्रचण्डले गृहमन्त्रीको समेत कार्यभार सम्हालेको बेला गृहमा ल्याइएको र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुन्जेल उनी सोही विभागका रहेको बताए त्यसपछि रवि लामिछाने गृहमन्त्री भएका बेला भट्टराईलाई ४ साउन २०८० मा हेटौंडास्थित मुख्यमन्त्री कार्यालयबाट गृहमा ल्याइएको थियो । उनलाई लामिछाने गृहमन्त्री हुँदै गृहको महत्त्वपूर्ण जिम्मेवारी दिई खटाइएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
वर्तमान गृहमन्त्री लेखकले आफू गृहमन्त्री भएर आउँदा उनी कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक थिए ।