२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

एमाले–राजावादी आमनेसामने

निमिष झा
२०८२ जेठ १५ गते ०६:२५
एमाले–राजावादी आमनेसामने

काठमाडौं : सत्ता पक्षीय नेकपा एमाले र राजावादीहरूले बिहीबार गणतन्त्र दिवसको सन्दर्भमा छुट्टाछुट्टै जनप्रर्दशन गर्दैछन् । देशभर उत्सव मनाउने निर्णय गरेको एमालेले काठमाडौंमा विशेष प्रदर्शन गर्न लागेको हो । 

बिहीबार नै राजावादीहरूले पनि राजसंस्था पुनस्र्थापनाका लागि प्रर्दशन गर्दैछन् । एमालेले त्यही प्रदर्शनलाई काउन्टर गर्न जनप्रर्दशन गर्न लागेको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ११ जेठमा गणतन्त्र दिवसको दिन काठमाडौंका सडक एमालेले कब्जा गर्ने बताएका थिए । त्यसैदिन ओलीले राजावादीसँग आमनेसामने हुने आशय व्यक्त गरेका थिए । राजावादीहरूले त्यस दिनलाई शक्ति प्रर्दशनकै रूपमा लिएका कारणले एमालेले काउन्टर गर्न खोजेको देखिन्छ । 

राजावादीहरूको आन्दोलनलाई काउन्टर गर्न प्रधानमन्त्री ओलीले १५ जेठमै जनप्रर्दशन गर्ने निर्णय पार्टी सचिवालयबाट गराएका हुन् । एमालेले प्रदर्शनलाई सफल बनाउन नेताहरूको जिम्मेवारी पनि बाँडफाँट गरेर सर्कुलर गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूलाई जिम्मेवारी बाँडफाँट गरेका हुन् । एमालेले काठमाडौंको जनप्रदर्शनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मा दिएको छ । 

उनीहरूको कमाण्डमा कार्यकर्ताहरू परिचालन हुनेछन् । साथै, जनसंगठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ ।

महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आमजनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रम चिर्न जनप्रदर्शनको तयारी गरिएको हो ।

मुठभेडको सम्भावना

सत्ता सञ्चालन गरिरहेको दल आफैँ सडकमा उत्रन लाग्नुलाई राजनीतिक वृत्तमा अनौठो रूपमा हेरिएको छ । दुवै पक्षको आमसभा र प्रदर्शनले राजधानीको राजनीतिक तापक्रम चर्काउने संकेत देखिएको छ ।

ओलीले सडक कब्जा गर्ने उत्तेजक भाषण गरेका कारण बिहीबार एमाले र राजावादी आमनेसामने हुने सम्भावना बढेको छ । त्यसले गर्दा प्रदर्शन हिंसात्मक हुने सम्भावना पनि छ । त्यसैले प्रधानमन्त्रीको उक्त भनाइको आलोचना पनि भइरहेको छ । 

सरकारका रहेको प्रमुख दलमात्र होइन, प्रधानमन्त्रीको पार्टीले नै सडक कब्जा गर्ने र अर्को पक्षको प्रदर्शनकारीसँग भिड्न प्रेरित गर्नु गलत भएको टिप्पणी भइरहेको छ । ओली प्रधानमन्त्री मात्र होइनन्, सत्तारूढ दलका अध्यक्ष पनि हुन् । तर उनको भनाइ र आह्वान प्रधानमन्त्री पदको मर्यादाभन्दा पार्टी प्रमुखको भूमिकामा सीमित देखिएको छ ।

राजावादीहरूको तयारी

राजावादीहरू संविधानले दिएको शान्तिपूर्ण प्रदर्शनको अधिकारअनुसार नै आन्दोलनमा उत्रिदै छन् । राजतन्त्र र हिन्दू अधिराज्य पुनस्र्थापनण सहितका माग उनीहरूको छ ।

राजसंस्था पुनस्र्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको अगुवाइमा आन्दोलन सुरु हुन लागेको हो । राजसंस्था समर्थक सबै दल र घटकहरूको आन्दोलनमा सहभागीता रहने छ ।

संविधानले सबै नागरिकलाई शान्तिपूर्ण रूपमा सभा, जुलुस र प्रदर्शन गर्ने अधिकार दिएको छ । यदि कोही नागरिक वा समूहले हिंसात्मक बाटो अपनाउँछ भने त्यसको नियन्त्रण गर्ने जिम्मेवारी गृह प्रशासन र सुरक्षा निकायको हो । यद्यपि राजावादीहरूले आन्दोलन शान्तिपूर्ण हुने बताइरहेका छन् ।

राजावादीहरूले छातालाई त ‘ब्रान्डिङ’को प्रयास गरेका छन् । उनीहरूले आन्दोलनको प्रचारका क्रममा छाताको समेत प्रचार गरिरहेका हुन् । राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती पछिल्लो समय आन्दोलनलाई जोडेर छाताको प्रचार हुँदा राजावादीको आन्दोलनमा छातासमेत ‘ब्रान्डिङ’ हुन पुगेको बताउँछन् । 

आयोजक आन्दोलन परिचालन समितिले समेत ‘छाता लिएर काठमाडौँ जाऔँ’ भन्ने नाराका साथ पोस्टर सार्वजनिक गरेको छ । नागरिक सर्वोच्चता कायम गर्दै प्रजातन्त्र र मानवअधिकारको संरक्षण र राजसंस्था पुनस्र्थापनाका लागि मौसमका हिसाबले उचित नभए पनि आन्दोलन गर्नुपरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

आन्दोलनका लागि २५ हजारभन्दा बढी मानिसहरू उपत्यका भित्रिइसकेको दाबी राजावादी नेताहरूको छ ।

राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजीको माग पुरा नभएसम्म सडक खाली नगर्ने राजावादी नेताहरू बताउँछन् ।

आन्दोलन शान्तिपूर्ण हुने र मुठभेडको अवस्था आउन नदिन आफूहरूले प्रर्याप्त सतर्कता अपनाउने श्रेष्ठले बताए । आन्दोलनमा १ हजार जना स्वयम् सेवक परिचालन गरिने पनि उनको भनाइ छ । ‘हाम्रो तर्फबाट कुनै पनि अशान्तिपूर्ण क्रियाकलाप हुन दिँदैन । कसैले पनि आत्तिनु र उत्तेजनामा आउनु पर्दैन’, उनले भने ।

३ हजार सुरक्षाकर्मी परिचालित

२०६५ सालयता वर्षेनि मनाइँदै आएको गणतन्त्र दिवसअन्तर्गत यस वर्षको कार्यक्रम सुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ ।

एमालेले गणतन्त्र उत्सव र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति त्यहीअनुसार बनाइएको छ ।

टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित संवैधानिक अंगका प्रमुख एवं विशिष्ट सरकारी व्यक्तिको उपस्थितिलाई सहज बनाउन बिहानै सुरक्षाकर्मी खटिने छन् । 

यी सबैखाले कार्यक्रमलाई लक्षित गर्दै प्रहरीले उपत्यकाभरका ३ हजार जनशक्ति परिचालन गरिने केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए । 

तर, विशिष्ट व्यक्तिको आवतजावतलाई मध्यनजर गर्दै हालसम्म टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने गणतन्त्र दिवस समारोह र संसदमा बजेट भाषण प्रस्तुत गरिने नयाँ बानेश्वरस्थित संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । 

यद्यपि, विभिन्न राजनीतिक दलले आयोजना गर्ने कार्यक्रमका निम्ति पनि प्रहरीको उत्तिकै सतर्क रहेको उनले बताए । 

‘कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य हुँदैन’, थापाले भने, ‘त्यसका निम्ति सम्पूर्ण स्रोत र साधनसहित हामी स्ट्याण्डबाई छौं ।’

छुट्टाछुट्टै समय र स्थान

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शनका दुबै आयोजकलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । दिउँसो २ बजेसम्म कार्यक्रम आयोजना गर्न एमालेलाई तथा त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिइएको छ ।

दुवैले भृकुटीमण्डप, सहिदगेट, रत्नपार्कलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गर्ने छन् ।

प्रशासनले समय निर्धारणका लागि एमाले र राप्रपाका नेताहरूसँग पनि छलफल गरेको थियो । 

ADV

सम्बन्धित खबर