काठमाडौं : गत साता कोरोना भाइरस संक्रमणका कारण भारतमा थप १० जनासहित बिदेशमा ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ । हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । गत साता साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिबार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारतमा २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।
अघिल्लो साता मलेसिया, भारत, कुवेत, यूएई र साउदी अरेबियामा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष तथा ‘कोभिड १९’ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । संघको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तरण, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका पन्तलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल, भारतसहित विश्वका विभिन्न देशमा देखापरेको नयाँ प्रजातिको महामारी अत्याधिक संक्रामक खालको भएकोले विशेष सावधानी अपनाउन स्वास्थ्य समितिले आग्रह गरेको छ । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने लगायतका लक्षण देखा परेमा तत्काल पीसीआर परीक्षण गर्न समितिले सुझाएको छ ।
नयाँ भेरियन्टको कोरोना भएमा परिवारमा सबै संक्रमित हुने अवस्था रहेकोले कुनै लक्षण देखिएमा सेल्फ आइसोलेसनमा बस्न पनि समितिले अनुरोध गरेको छ ।
यस्तै मधुमेह र उच्च रक्तचाप भएका मानिसहरूलाई संक्रमण भइहालेमा अवस्था गम्भीर हुन सकने भएकाले उनीहरुले आफ्नो स्वास्थ्य र औषधि सेवनमा विशेष ध्यान दिन भन्दै समितिले पोषणयक्त खानेकुरा खाने, शारीरिक व्यायाम गर्ने, संक्रमित व्यक्तिहरूले घरमा अक्सिजन नाप्ने मिटर राखी बेलाबेलामा अक्सिजन नाप्दै अक्सिजन लेभल कम भए तुरुन्त स्वास्थ्य विज्ञसँग सल्लाह लिइहाल्न पनि सुझाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies