२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट

Nada
२०८२ जेठ २० गते ०८:५९
Shares
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट

कैलाली : धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाद्वारा गरिएको संयुक्त अनुगमनमा उक्त परिमाणमा विषादी प्रयोग गरिएका आँप पाइएपछि नष्ट गरिएको हो।

ncell

उपमहानगरभित्र रहेका तीन वटा हाट (फलफूल तथा तरकारी) बजारमा अनुगमन गर्दा विषादीको मात्रा अत्याधिक प्रयोग भएका अखाद्य आँप पाइएपछि नष्ट गरिएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख महेश मल्लले जानकारी दिए । 

उनका अनुसार सहिद गेट कृषि उपज थोक बजार, दक्षिणकाली मार्ग सब्जी मन्डी र धनगढीको चौराहास्थित हाट बजारबाट तरकारी तथा फलफूलका नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

थोक बजार तथा मन्डीबाट भिन्डी, काँक्रो, गोलभेँडा, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढी देखिएको जनाउँदै मल्लले खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको बताए।

परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले जानकारी दिए ।

उनका अनुसार संयुक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको मोबाइल खाद्य घुम्ती प्रयोगशाला प्रयोग गरी तीन वटा हाट बजारबाट फलफूल तथा तरकारीका १८ वटा नमुना संकलन गरिएको थियो । ती नमुनाको विषादी अवशेष द्रुत विश्लेषण विधिबाट परीक्षण गर्दा आँपको नमुनामा रोकावट ६१ प्रतिशत पाइएकाले दुई हजार २६७ किलो आँप नष्ट गरिएको उनले जानकारी दिए ।

बाँकी १७ वटा नमुनामा कैफियत नपाइएको उल्लेख गर्दै प्रमुख प्रधानले अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहे पनि खान योग्य मानिएको बताए । उनका अनुसार आँपमा विषादीको अवशेष उच्च भएकाले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले खान अयोग्य ठहर गरी नष्ट गरिएको हो ।

सम्बन्धित खबर