काठमाडौं : नेकपा (एमाले) भित्र भावी शक्ति सन्तुलनको विषयमा विभिन्न आशंका चलिरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले पूर्वमा भइरहेका कार्यक्रममा एक साथ व्यस्त छन् ।
एमाले भित्र अध्यक्ष दोलीको रापताप चलिरहँदा पूर्वराष्ट्रपति भण्डारी को ‘सक्रियता’ले पार्टीभित्र हलचल सुरु भइरहँदा दुबै जनाको पूर्व भ्रमणले हलचल ल्याएको हो ।
पार्टीको आगामी महाधिवेशनपछि नेतृत्वमा ओलीको निरन्तरता या भण्डारीको आगमन भन्नेमा बहस एमालेको केन्द्रमा मात्र होइन, तल्लो तहसम्मै पुगेको छ ।
बिहीबार विराटनगर ओर्लिएकी भण्डारी मोरङका पार्टी कार्यकर्ता भेटघाट र कार्यक्रममा व्यस्त रहिन् । शुक्रबार पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई विराटनगरमा उनले उद्घाटन गरिन् । भण्डारीले शनिबार झापाको विर्तामोडको देवी माविमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरिन् । यो प्रदर्शनी एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको हो ।आफू राजनीतिमा सक्रिय नै रहेको सन्देश दिन भण्डारी यतिखेर विभिन्न जिल्ला पुगिरहेकी छिन् ।
यता, प्रधामनन्त्री ओली शनिबार विराटनगर पुगे । उनी मोरङको कटहरी गाउँपालिका–२ मा निर्माण भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् ।
ओली–भण्डारीको पछिल्लो पूर्व–दौडाहाले एमालेभित्र र बाहिर पनि नयाँ राजनीतिक संकेतको चर्चा चल्न थालेको छ । दुवै नेताले आ–आफ्नो कार्यतालिकामा पूर्वका दुई जिल्लामा सक्रियता बढाएका छन् ।
राजनीतिमा आफ्नो सक्रियताको विषयमा पूर्वराष्ट्रपति भण्डारीले विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै भनेकी थिइन्, ‘म त सक्रिय नै छु, राजनीतिमा नै छु ।’
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः सक्रिय राजनीतिमा फर्किएको प्रसंग उद्धृत गर्दै पत्रकारले सोधेको प्रश्नमा उनले आफू पनि राजनीतिमा सक्रिय नै रहेको बताएकी हुन् ।
उनको यो अभिव्यक्तिपछि एमालेभित्र उनको सक्रिय भूमिकाको संकेतको रूपमा विश्लेषण भइरहेका छन् । यति बेला ओली नेतृत्वको पार्टीभित्र आगामी रणनीति, संगठन विस्तार र भावी चुनावी तयारीका सवालमा व्यापक छलफल चलिरहेको छ । यस्तो अवस्थामा ओली र भण्डारी प्रदेश र जिल्ला दौडाहामा एकसाथ सक्रिय भएका छन् ।
पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओलीले दौडाहाको तयारी गरिरहेको एमालेका एक नेता बताउँछन् । उनका अनुसार भण्डारीको सक्रियताले पनि नेता तथा कार्यकर्तामा सकारात्मक ऊर्जा दिएको छ ।
ओली–भण्डारीको पूर्वको सक्रियतालाई धेरैले संघीय र प्रदेशको आागामी निर्वाचनसँग समेत जोडेर हेरेका छन् । भण्डारीको सक्रियतालाई केहीले पार्टीभित्रको भविष्यसँग पनि जाडेरे हेरेका छन् ।
एमालेको महत्वपूर्ण आधार क्षेत्र पूर्व मानिन्छ । झापा ओलीको गृह जिल्ला हो भने मोरङ भण्डारीको गृह जिल्ला हो । त्यसैले ओली र भण्डारी दुबैले पूर्वका जिल्लालाई प्राथमिकतामा राखेका छन् । विशेषगरी कोशी प्रदेशभित्र एमालेले पुनः संगठनात्मक बल जुटाउन खोजिरहेका बेला यी दुई नेताको समानान्तर सक्रियतालाई
चासोपूर्वक हेरिएको छ ।
यद्यपी ओली र भण्डारी पक्षका नेताहरू दुबै जनाको कार्यक्रमलाई नियमित भने पनि पूर्वमै एकले झापा र अर्कोले मोरङ रोजेर सक्रियता देखाउनु संयोग मात्र नभएको कतिपय नेताहरूको धारणा छ ।
भण्डारीको ‘वार्म अप’
२० फागुन २०७९ मा राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी बिदा भएपछि उनी एमालेका सार्वजनिक मञ्चमा क्रमशः देखिन थालिएकी हुन् । उनी एमालेको अध्यक्ष बन्ने गरी राजनीतिमा आउन चाहेको संकेत स्पष्ट रूपमा त दिएकी छैनन् । तर, उनी निकटस्थहरूका अनुसार पार्टीको आगामी महाधिवेशनसम्ममा उनी सर्वसम्मत् हुने अवस्था बनाउने कसरत सुरु भएको छ ।
हालै चीनको १० दिने भ्रमण गरी फर्केकी भण्डारीलाई चिनियाँ नेताहरूले वाम एकताका लागि पहल गर्न सुझाव दिएका छन् । भण्डारीलाई पूर्वराष्ट्रपतिको भन्दा एमालेको वरिष्ठ नेताका रूपमा सम्मान चीनले दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नेताहरूले भण्डारीलाई दिएको सुझाव यसअघि माओवादी केन्द्रका नेताहरूलाई पनि दिएका थिए ।
भण्डारीको भ्रमण त्यस्तो समयमा भएको जतिबेला उनी सक्रिय राजनीतिमा आउने चर्चा चलेको छ भने एमालेको आगामी नीति महाधिवेशन पार्टीकै नेतृत्व लिने तयारी गरिरहेको बेला भएको हो । भण्डारीको भ्रमणमा सहभागी एक नेताका अनुसार चिनियाँ नेताहरूसँग भएको भेटबाट उनी उत्साहित छिन् भने एमालेको आगामी महाधिवेशनले भण्डारीको पुनः आगमनका लागि मार्ग प्रशस्त गर्नेछ ।
चिनियाँ नेताहरूको बुझाइ अनुसार भण्डारी एमालेको नेतृत्व लिन फर्कन लागेकी हुन् भने उनले वामपन्थी एकताको पक्षमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने चीनको चाहना रहेको सुनाएका थिए ।
एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल राजनीतिमा सक्रिय हुने–नहुने निर्णय भण्डारीमा नै निर्भर रहने बताउँछन् । ‘उमेर हेर्दा त उहाँको सक्रिय हुने बेला नै छ । सम्माननीय पदमा २ पटक रहनुभएकाले के गर्ने भन्ने कुरा त उहाँले निर्णय गर्ने विषय हो,’ उनी भन्छन् ।