चितवनः जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भइ आएका हुन ।
भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरु नयाँ थपिएका हुन । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस फाउण्डेसनमा सन् २०२५ को पाँच महिनामा ती बिरामी थपिएका हुन । अस्पतालमा आएर परीक्षण गरेका र समुदायस्तरमा परीक्षण गरिएका २३ जना हुन । अहिले यस केन्द्रमा नियमित औषधि खानेको सङ्ख्या एक हजार एक सय ८८ जना रहेको छ ।
उनले भने, ‘यहाँ औषधि सेवन गर्नेमध्ये जिल्लाको माडीको बघौँडा अस्पताल र मध्यविन्दु अस्पताल डण्डामा केही स्थानान्तरण भएर गएका छन् ।’ ती दुई केन्द्रमा ५५ जना बिरामी स्थानानतरण भइ औषधि लिँदै आएका छन् । ती केन्द्रमा सेवा लिनका लागि कठिन भयो भनेर पुनः भरतपुर अस्पतालको यस सेन्टरमा आउने पाँच जना रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार अहिले यहाँबाट नियमित औषधि सेवन गर्ने बिरामी मध्ये ५८२ जना पुरुष, ५५८ जना महिला रहेका छन् ।
यस्तै ३० जना बालबालिका र १८ जना तेस्रो लिङ्गी रहेको उनले जानकारी दिए । नियमित औषधि सेवन गर्ने बिरामीलाई अस्पतालले अन्य सेवा समेत दिने गरेको छ । उनका अनुसार अस्पतालमा अएका सङ्क्रमित बिरामीका कुरुवालाई खाना खाजाको व्यवस्था, उपचारमा सहयोग, आवश्यकता अनुसार एम्बुलेन्समा सहयोग, असाहायको लागि खाध्यान्न सहयोग गर्दै आएको छ । यस फाउण्डेसनसंँगै अन्य फाउण्डेसनमा पछिल्ला समय भाइरल लोडमा समस्या आएको उनले बताए ।
भाइरल लोडका लागि आवश्यक किटको अभावले समस्या देखिएको फिजिसियन डा. सापकोटाले बताए । उनले भने, ‘अहिले तत्कालका लागि समस्या समाधान भए पनि अझै एक महिना कसरी व्यवस्थापन गर्ने भन्ने छ ।’