काठमाडौं : नेपाल आउने उडान बन्द हुँदा मलेसियामा वेदेशिक रोजगारीमा गएका करिब तीन दर्जन नेपाली कामदारको शव अड्किएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले हाल मलेसियाका ३५ नेपाली कामदारको शव रोकिएको बताए ।
कोरोना भाइरसको दोश्रो लहर फैलिएपछि सरकारले निषेधाज्ञाको आदेश जारी गरेलगत्तै अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवधिमा ३५ नेपालीको शव रोकिएको हो । मलेसियामा करार र भिसा अवधि सकिएर नियमितरुपमा नेपाल फर्कन खोज्ने नेपाली कामदारहरुको संख्या दैनिकरुपमा थपिँदै गएको छ । कतिपय कामदारले नेपालमा निषेधाज्ञा लागू हुन अघि नै टिकट लिएर बसेका छन् । हजारौं कामदारले उडान कहिले खुल्छ भन्दै टेलिफोन गर्ने गरेको राजदूत पाण्डेले बताए ।
जेल सजाय काटेका ६५ जना कामदार पनि नेपाल फर्किन नपाएर अलपत्र परेका छन् । मलेसियामा हाल कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ । पछिल्लो पटक गरिएको लकडाउन जुन १४ तारेखसम्म रहेको र त्यसपछि के हुने हो अनिश्चित रहेको पनि राजदूत पाण्डेले बताए । नेपालबाट हप्तामा एउटामात्र भए पनि उडान भए केही सहज हुने भन्दै निरन्तर परराष्ट्र मन्त्रालयलाई आग्रह गरिरहेको पनि जानकारी दिए ।
यता कारोना संक्रमणका कारण पछिल्लो दुई हप्तामा १३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले साउदीमा ७, भारतमा ५ र कतारमा १ जना नेपालीको ज्यान गएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies