२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Nada
कमल कुमाल
२०८२ असार ५ गते २०:३८
Shares
पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

कालीकोट : कालीकोटको पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता  तथा दिगोपन पालिका घोषणा गरिएको छ । ‘स्थानीय दायित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बिहीबार जिल्ला समन्वय समिति कालीकोटका प्रमुख तथा खोप समन्वय समितिका संयोजक धनजित बहादुर शाहीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । 

ncell

पचालझरना गाउँपालिकाले उत्साह र उमङ्गका साथ काम गरेर पालिकालाई पूर्ण खोप बनाउन सहज भएकोबारे जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सन्ज्यालले यो अभियानले निरन्तरता पाउनु ठूलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए । 

पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न महत्वपूर्ण भूमिका खेलेकोमा समन्वय प्रमुख शाहीले पचालझरना गाउँपालिका अध्यक्ष देबराज शाही र उपाध्यक्ष अल्किना बमलाई प्रमाणपत्र हस्तान्तरण समेत गरिएको थियो । 

सो अवसरमा पालिका अध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए । 

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सन्ज्यालले बताए । गाउँपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको भेटघाट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । 

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए । 

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि पचालझरना गाउँपालिकाका प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणको क्रममा ९० प्रतिशत  खोप लगाएको भेटिएकाले पुर्ण खोप घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 

पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले पचाल झरनामा आमा र बाल बच्चाको मृत्युदर खोप अभियानले घटेको भन्दै आगामी दिनमा नयाँ–नयाँ स्वास्थ्य रणनीति तयार गरी लाग्ने बताइन् । 

जिल्ला खोपसमन्वय समितिका सदस्य सचिव जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत कटक महतले अभियानलाई सार्थक र परिणाममुखी बनाउन सबैको जिम्मेवारी रहेको बताए । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुुख मिना रावत विकले पचालझरनामा नागरिकले स्वास्थ्यसेवामा प्राप्त गरेको उपलब्धिलाई निरन्तरता दिनुपर्ने बताइन् । 

कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका सभापति शाहीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले भौतिक पुर्वाधार र सामाजिक बिकास सँगसँगै लैजानुपर्ने बताए । कार्यक्रम समापनका क्रममा बोल्दै घोषणा कार्यक्रमका अध्यक्ष शाहीले पालिका सबै भन्दाबढी स्वास्थ्य र शिक्षामा संवेदनशिल रहेको बताए ।

सम्बन्धित खबर