विराटनगर : महिलाका साझा मुद्दामा एकताबद्ध गएर लाग्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । समावेशी महिला सञ्जाल ‘संकल्प’ कोशी प्रदेशको विराटनगरमा सम्पन्न प्रदेशस्तरीय अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रममा सहभागीले नेतृत्व तहमा महिलाको सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा राष्ट्रिय महिला आयोगकी सदस्य लिलि थापाले महिलाका साझा मुद्दामा सञ्जालले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड सलएन् ।
उनले भनिन्, ‘नेतृत्व तहमा महिलाको सहभागिता सुनिश्चित गर्न चुनाव खर्चको अनुगमन र महिलाबीच प्रतिस्पर्धाको वातावरण बनाउन आवश्यक छ ।’
उनले प्रमुख वा उपप्रमुखमध्ये अनिवार्य एक महिला हुने कानुनी व्यवस्था भए पनि फरक पार्टीको हुँदा महिलाहरू पछि पर्ने अवस्था देखिएको बताइन् ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष संगिता लामाले संजालमा मुस्लिम, जनजाति, दलित, अपांगता भएका महिला लगायत विविध समुदायका महिला संस्थाहरूको प्रतिनिधित्व रहेकाले एकअर्काको मुद्दालाई सम्मान गर्दै सहकार्यमा जोड दिन आग्रह गरिन् ।
प्रदेश सभा सदस्य सोभा चेम्जोङ र लखि कुमारी गणेशले महिलाहरूले सोचेजस्तो ढंगले काम गर्न नसकेको उल्लेख गर्दै काम गर्ने अवसर नपाएको गुनासो अझै यथावत् रहेको बताए ।
सो अवसरमा शोभा दाहालको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा गंगा बराल, सचिवमा फातिमाकी नजबुल खान र कोषाध्यक्षमा मिना राई चयन भएकी छन् । सदस्यमा विविशा राई, राखी कर्ण, सुशिला विक, शान्ता तामाङ र सविता बुढाथोकी चयन भएका छन् । कोशी प्रदेशका १४ जिल्लामध्ये कार्यसमितिमा नपरेका जिल्लाहरूमा फोकल पर्सन नियुक्त गरिने संकल्पकी केन्द्रीय अध्यक्ष लामाले जानकारी दिइन् ।