रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका १५ महिना मुनिका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आफ्नो पालिकाभित्र १५ महिनाभित्रका ९९ प्रतिशत बालबालिकाले लगाउनुपर्ने सम्पूर्ण खोप समयमै लगाएको भन्दै बिहीबार एक समारोहबीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको जिल्लाजनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंहले बताए ।
उनले देवाही गोनाही नगरपालिकाले सबै इण्डिकेटरहरु पूरा गर्दै आफ्नो पालिकालाई रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गर्न सफल भएकोमा शुभकामना व्यक्त गरे ।
प्रमुख सिंहले भने, ‘जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सबैभन्दा महत्त्वपूर्ण भूमिकामा रहनुभएको स्वास्थ्य स्वयंसेवकको अहोरात्रको प्रयासबाट ‘पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना पालिका घोषणा’ गर्न सफल भएको हो ।’
प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ ले नगरको इज्जत बढाएको भन्दै यसमा लाग्ने सम्पूर्ण स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई बधाइ दिए ।
कार्यक्रममा देवाही गोनाही स्वास्थ्य शाखा प्रमुख जग्गा राम पालिकाले प्रत्येक महिनाको २२ देखि २६ गतेसम्म खोप सेवा उपलब्ध गराउँदै आएको बताए । उनले तोकिएको दिन बित्दै भएपनि खोप सेवा भने नरोकिने बताए । स्वास्थ्य प्रमुख जग्गा रामका अनुसार पालिकाका ९ वडाको ४५ खोप केन्द्रबाट नियमित खोप सञ्चालन हुँदै आएको छ ।
उनले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ पहिला घर घरमा गएर खोप लगाए नलगाएको सुनिश्चितता गरिएको बताए ।
देवाहो गोनाही नगरपालिका स्वास्थ सहसंयोजक राजीव कुमार साहले सम्पूर्ण जनप्रतिनिधि र स्वास्थ्यकर्मीको प्रयासमा आजको दिनसम्म पुग्न सफल भएको बताए ।
‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कार्यक्रममा वडाध्यक्षहरू अतिकुर रहमान, उपेन्द्र साह,उपेन्द्र यादव, बिजय पटेल, वीर बहादुर साह लगायतले मन्तव्य राखेका थिए ।
नगर उपप्रमुख प्रनिया देवी पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका श्याम पासवानले गरेका थिए । बिहीबार नै जिल्ला खोप समन्वय समितिको सचिवालयले नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाण पत्र प्रदान गरेको छ ।