२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र

ADV
मध्यान्ह
२०८१ असार २७ गते २०:२६
दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धा प्रस्ताव गरेका छन् ।

राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा दशौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार भएको बैठकमा उक्त प्रस्ताव गरिएको हो । सदस्य–सचिव घिसिङले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल प्रस्ताव गरे ।

राखेपले दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ । त्यसअघि विभिन्न ६ खेलको प्रतियोगिता भने कात्तिक २७ गतेदेखि नै शुरु गर्ने गरी प्रस्ताव गरिएको छ । महिला फुटबल, उसु, पुरुष÷महिला बास्केटबल, जुडो, पुरुष/महिला हक्की र तेक्वान्दो खेललाई दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै गर्ने गरी प्रस्ताव गरिएको हो । निर्णायक संख्या १ हजार ४ सय ९९ प्रस्ताव गरिएको छ ।

बैठकमा सदस्य–सचिव घिसिङले दशौं राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराउँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए । उनले बृहत् राष्ट्रिय खेलकुद देशकै ओलम्पिक खेलकुदका रुपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताउदै दशौं राष्ट्रिय खेलकुदलाई सफलतापूवर्क सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिए ।

सदस्य–सचिव घिसिङले दशौं राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउँदै खेलकुदलाई व्यावसायिक बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले लोगो र मस्कटको छनोट भइसकेको अवगत गराउँदै खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयारी थालिएको बताए ।

सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलनअनुसार दशौं राष्ट्रिय खेलकुद सकिएलगत्तै नेपालमा पहिलोपटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताए । उनले प्रस्ताव गरिएका बुँदामा यथशीघ्र सुझाव उपलब्ध गराउन आग्रह गरे ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकका दौरान खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताउँदै तोकिएकै समयमा दशौं राष्ट्रिय खेलकुद गर्नुको विकल्प नरहेको बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापन कारण कर्णाली प्रदेशको ५ जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउनुपर्ने बताए ।

बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्य–सचिवहरुले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनुपर्ने, एक खेलमा कम्तीमा ५ टिम सहभागी हुनुपर्ने, बजेट समयमा निकासा हुनुपर्नेलगायतका विषयमा धारणा राखेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise